Logo

भारतपछि अमेरिकाले भन्यो- नयाँ सरकारसँग मिलेर काम गर्न आतुर छौ



काठमाडौं, मंसिर २९- अमेरिकाले हालै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचन सफलापूर्वक सकिएकोमा नेपाललाई बधाई दिएको छ।

मतगणनासकिएसँगै भारतपछि शुभकामना र बधाईदिँदै अमेरिकाले भनेको छ- ‘प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन मङ्‌सिर १० र २१ गते शान्तिपूर्ण, व्यवस्थित तथा व्यापक समर्थनप्राप्‍त रूपमा सम्पन्न गराएकोमा र मतगणना लगायत मतपरिणामको चुनौतीपूर्ण प्रक्रिया व्यवस्थापन गरेकोमा  संयुक्त राज्य अमेरिका नेपाली जनता र नेपाल सरकारप्रति सराहना व्यक्त गर्दछ।’

स्थानीय, प्रादेशिक र राष्ट्रिय तहमा निर्वाचनको सफल समापन नै नेपालको लोकतान्त्रिक यात्राको महत्त्वपूर्ण कोशेढुङ्गा भएको अमेरिकाले भनेको छ। ‘जसले पारदर्शिता, समावेशिता, विधिको शासन र सेवा प्रदायनका सिद्धान्तमा आधारित उत्तरदायी शासनलाई समेत सम्भव बनाउनु पर्दछ । पाँच चरणमा मुलुकभर निर्वाचन सम्पन्न गराउनका लागि सामान्यतया सुरक्षित र सुव्यवस्थित वातावरण बनाउनमा असङ्ख्यौँ सरकारी अधिकारी, निर्वाचन तथा मतदान अधिकारी, स्वयंसेवक, पर्यवेक्षक, राजनीतिक दल तथा अन्य व्यक्तिहरूको अथक प्रयास र योगदान प्रशंसनीय छ,’ एक विज्ञप्ति जारी गर्दै भनेको छ।

निर्वाचनमा सहभागी सबै दललाई बधाई दिँदै अमेरिकाले अब बन्ने नयाँ सरकारले संविधान कार्यान्वयनको अर्को चरणमा कदम उठाउँदै गर्दा उक्त नयाँ सरकारसँग सहकार्य गर्न हामी उत्सुकतापूर्वक प्रतीक्षारत रहेको बताएको छ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘संवैधानिक रूपमा व्यवस्था गरिएको प्रत्यक्ष निर्वाचनको अन्तिम चरणको समापनसँगै नेपाली जनताका लागि महत्त्वपूर्ण अवसर आएको छ। निर्वाचन, संघीयता र सरकारी निकायहरूको सबलीकरणको माध्यमबाट हुने संविधान कार्यान्वयनले राजनीतिक स्थायीत्वको नयाँ युग सुरू गर्ने सम्भावना बोकेको हुन्छ। यो नै समृद्ध भविष्य निर्माण गर्नका लागि नेपाललाई आवश्यक आर्थिक वृद्धि तथा विकासको अपरिहार्य पूर्वशर्त हो । मुलुकको पूर्ण सम्भावना हासिल गर्ने दिशामा अघि बढ्नका लागि नेपाली जनताको सेवा र भलाइ गर्ने खालको समावेशी, पारदर्शी, जवाफदेही शासनमा केन्द्रित हुने जिम्मेवारी अब सबै तहमा नवनिर्वाचित जनप्रतिनिधिहरूको काँधमा आएको छ । हामी नागरिकहरूलाई आफ्नो सहभागिता कायम राख्दै र निर्वाचित जनप्रतिनिधिलाई पूर्ण रूपमा जवाफदेही बनाउँदै आफ्नो नागरिक कर्तव्यलाई निरन्तरता दिन आग्रह गर्दछौँ ।’



प्रतिक्रिया दिनुहोस्