Logo

राष्ट्रिय सभा निर्वाचन अध्यादेशमा खोचे थापेर कांग्रेसले सत्ता लम्ब्याउने प्रयास गर्यो : ओली



काठमाडौं, १ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचन अध्यादेशमा खोचे थापेर कांग्रेसले सत्ता लम्ब्याउने प्रयास गरेको आरोप लगाएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले अध्यक्ष ओली निवास बालकोटमा आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले कांग्रेसले लोकतान्त्रिक माध्यता र जनताको अभिमनलाई अवमुल्यन र अस्वीकार गरेको भन्दै असन्तुष्टि पोखेका हुन ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै ओलीले भने,‘कानुनको खोचे थापेर, बखेडा झिकेर, जनताको अभिमतलाई अवमुल्यन र अस्वीकार गर्ने मनसाय प्रकट भएको छ, मर्या्दित संस्थाको अनुचित ब्याख्या र प्रयोग गर्ने कुरा शोभनीय हुँदैन ।’

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले निर्वाचनबाट अल्पमतमा परेपछि राष्ट्रिय सभा आफू अनुकूल बनाउन सरकारले गैरसंवैधानिक अध्यादेश लगेको भन्दै सच्याउन आग्रह गरे । ‘जहाँ जे लेखे पनि मौजुदा सरकारले नै समानुपातिक सांसद छान्ने भनेर अध्यादेश लगे के हुन्छ,’ उनले प्रश्न गर्दै भने, ‘गलत कामलाई मान्नुपर्छ भन्ने छैन ।’

सरकार गठनका लागि आफ्नै अभ्यास र नजिरहरु रहेको भन्दै नयाँ सरकार बनाउन राष्ट्रिय सभा गठन आवश्यक नरहेको ओलीको तर्क छ । निर्वाचन आयोगले पनि कानुनअनुसार काम गर्नुपर्नेमा जोड दिंदै उनले भने, ‘निर्वाचन आयोग कसैको ट्विटका पछाडि होइन, संविधान र कानुनअनुसार चल्नुपर्छ ।’

आफूहरुलाई सरकारमा जान कुनै हतार नभएको बताउँदै अध्यक्ष ओलीले जनमतबाट नै कांग्रेसलाई राजीनामा गराइसकेको उल्लेख गरे । प्रदेश प्रमुख नियुक्तिमा कसरत गरेकोप्रति असन्तुष्टि जनाउँदै उनले भने, ‘कांग्रेसले नियुक्त गरेको जो पायो त्यहीबाट हामीले शपथ ग्रहण गर्नुपर्ने ?’

उनले यो वर्ष एकै पटक तीन वटा निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै भने,‘भौगोलिक अवस्थालाई हेरेर र निर्वाचन आयोगका सिमाहरुलाई हेरेर दुई चरणमा मंसिर १० र २१ ग्ते निर्वाचन गर्नु बेग्लै कुरा हो । तर त्यो एउटै निर्वाचन हो । केन्द्रिय सभा र प्रदेश सभाको सरकार बनाउने दुवै सभाका निर्वाचन सम्पन्न भयो ।’



प्रतिक्रिया दिनुहोस्