Logo

राष्ट्रियसभा अध्यादेश : राजनीतिक सहमतिमा राष्ट्रपतिको जोड



प्रकाश सिलवाल : काठमाडौँ, १ पुस : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मत परिणाम आइसके पनि माथिल्लो संसद् राष्ट्रियसभा गठनका लागि अझै केही समय लाग्ने देखिएको छ ।

राष्ट्रियसभाको निर्वाचन प्रक्रियाबारे प्रमुख दलहरुबीच मतान्तरका कारण त्यससम्बन्धी अध्यादेश जारी गर्न ढिलाइ हुँदा नयाँ सरकार गठन प्रक्रिया अघि बढाउने या नबढाउने भन्ने विषयमा राजनीतिक र कानूनी बहस चलिरहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा निर्वाचनको प्रक्रियाका विषयमा दलहरुबीच देखिएको विवादलाई सहमतिका आधारमा निचोडमा पु¥याउन पछिल्ला दिनमा अग्रसरता देखाउनुभएको छ ।

राष्ट्रपतिले राष्ट्रियसभा गठन, नयाँ सरकार निर्माण र समसामयिक विषयमा शुक्रबार र शनिबार गरी प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, निर्वाचनबाट ठूलो दल बनेको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अलग–अलग भेटवार्ता गर्नुभएको छ ।

राष्ट्रियसभा नबनेसम्म संघीय संसद्मा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चितता नहुने हुँदा प्रतिनिधिसभाको समानुपातिकको सिट बाँडफाँडमा पनि अन्योल देखिएको ठानिएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभा भएपछि त्यसलाई संघीय संसद् भनिनेछ ।

राष्ट्रियसभा गठन नभएसम्म नयाँ सरकार गठन गर्न नमिल्ने कतिपय दल र कानून व्यवसायीको तर्क छ भने ताजा जनादेश आइसकेकाले राष्ट्रपतिले राष्ट्रियसभा गठन नभएको अवस्थामा पनि नयाँ सरकार गठन गर्नसक्ने तर्क पनि आइरहेका छन् ।

व्यवस्थापिका–संसद्को कार्यकालभित्र राष्ट्रियसभा सदस्यसम्बन्धी विधेयक पारित नभएकाले अध्यादेशबाट सो कानून जारी गर्न नेपाल सरकार मन्त्रिपरिषद्को गत कात्तिक १ को निर्णयअनुसार राष्ट्रपतिसमक्ष पेश भएको थियो ।

काँग्रेसले राष्ट्रियसभामा एकल संक्रमणीय प्रणालीका आधारमा प्रतिनिधित्व गराउन जोड दिँदै आएको छ भने वाम गठबन्धनले बहुमतीय प्रणाली अपनाउनु संविधानको समेत मर्म रहेको जनाइरहेको छ । सरकारले पेश गरेको अध्यादेशमा एकल संक्रमणीय प्रणालीको व्यवस्था भएकाले त्यसलाई राष्ट्रपतिले पारित गर्नुपर्ने सुझाव प्रधानमन्त्री देउवाले दिनुभएको छ भने एमालेका अध्यक्ष ओलीले त्यसरी प्रस्ताव पठाइनु संविधान विपरीत भएको दाबी गर्नुभएको छ ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपतिले प्रमुख दलका नेताहरुलाई अध्यादेशलगायतका विषयमा सहमतिमा पुग्न आग्रह गर्नुभएको बताउनुभयो । “सम्माननीयज्यूको प्राथमिकता प्रमुख दलहरुको सहमतिमै रहेको छ, दलहरुबीच सहमति भएलगत्तै अध्यादेश जारी हुन्छ”, अधिकारीले रासससँग भन्नुभयो ।

नेपालको संविधान, २०७२ जारी भएपछि यही मंसिर १० र २१ मा दुई चरणमा गरी सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रत्यक्षतर्फको अन्तिम परिणाम आइसकेको अवस्थामा नयाँ सरकार गठन गर्ने जिम्मेवारी राष्ट्रपतिको भएको भनाइ पूर्व सांसद एवं अधिवक्ता रामनारायण बिँडारीको छ । उहाँले राष्ट्रपतिले संसद्मा बहुमत पुग्ने एक वा सोभन्दा बढी दलका नेतालाई प्रधानमन्त्री नियुक्त गरेपछि उसले एक महिनाभित्र संसद्मा आफ्नो विश्वासको मत लिन सक्ने बताउनुभयो ।

संविधानको भाग ८ मा संघीय व्यवस्थापिका–संसद् गठनबारे उल्लेख छ । धारा ८३ अनुसार २७५ सदस्यीय प्रतिनिधिसभा र धारा ८६ अनुसार ५९ सदस्यीय माथिल्लो संसद् राष्ट्रियसभा गठन हुनेछ ।

संविधानको धारा ९३ मा राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसद्को अधिवेशन आह्वान गर्ने व्यवस्था छ तर राष्ट्रियसभा गठन नभएसम्म नयाँ सरकार बन्न नसक्ने भन्ने किटान नभएकाले प्रमुख दलहरुबीचको सहमतिबाट निकास खोज्नु आवश्यक देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्