काठमाडौं, ५ पुस । राष्ट्रिय सभा निर्वाचनसम्बन्धी अध्यादेशका विषयमा राजनीतिक दलहरुबीच विवाद बढिरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन् ।
बुधबार शितल निवासमा पुगेर अध्यक्षद्धय ओली र प्रचण्डले अध्यादेशको गतिरोध अन्त्यका विषयमा राष्ट्रपतिसँग छलफल गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
सरकारले एक संक्रमणीय प्रणालीबाट राष्ट्रिय सभा सदस्य निर्वाचन गर्ने व्यवस्थासहितको अध्यादेश प्रमाणीकरणका लागि पठाएपछि निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको नतिजासमेत सार्वजनिक गर्न सकेको छैन ।