Logo

जाजरकोटमा घरटहरा हटाउन शुुरु



जाजरकोट, ५ पुस (रासस) : जिल्लामा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन शुरु गरिएको छ ।

सदरमुकामको बजार क्षेत्रभित्र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन शुरु गरिएको हो ।

अतिक्रमण गरिएका घरटहरा आफँै हटाउन पटक–पटक गरेको सूचना अटेर गरेपछि जिल्ला वन कार्यालयले हटाउन शुरु गरेको हो । अतिक्रमणकारीले सदरमुकामको बजार क्षेत्रभित्र सार्वजनिक जग्गा तथा वन क्षेत्र अतिक्रमण गरेर ३०० घरटहरा निर्माण गरेका छन् । उनीहरुले पक्की घरसमेत निर्माण गरेका छन् ।

पहिलो चरणमा मंगलबारदेखि बजारको मुख्य स्थान भेरी नगरपालिका–३ थाप्लेचौरमा निर्माण गरिएका टहरा हटाउन थालिएको छ । अतिक्रमण गरिएका घरटहरा हटाउन शुरु गरिएको जिल्ला वन अधिकृत उपेन्द्र पटेलले जानकारी दिनुभयो । अतिक्रमणकारीलाई वन ऐनअनुसार कारबाही गर्ने उहाँले बताउनुभयो ।

भेरी नगरपालिकाले समेत अतिक्रमित घरटहरा हटाउन सूचना जारी गरेको छ । जिल्ला वन कार्यालयसँग समन्वय गरेर नगर क्षेत्रभित्र अतिक्रमण गरी बनाएका सबै घरटहरा हटाइने नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताउनुभयो ।
–––



प्रतिक्रिया दिनुहोस्