Logo

राजपा फोरम एकल संक्रमणीय मतका पक्षमा, राष्ट्रपतिले तत्काल विधेयक पारित गर्नुपर्ने माग



७ पुस, काठमाण्डौ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपाल सम्मिलित मधेशी गठबन्धनले एकल संक्रमणीय मतका आधारमा राष्ट्रिय सभाको गठन हुनु पर्ने धारणा प्रष्ट पारेको छ । साथै राष्ट्रपतिले तत्काल राष्ट्रिय सभा गठन अध्यादेश स्वीकृत गर्नुपर्ने जनाएको छ ।

संघीय समाजवादी फोरमका महासचिव रामशहाय यादवले मधेशी गठबन्धन एकल संक्रमणीय मतको पक्षमा रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै यादवले एकल संक्रमणिय मत प्रणालीको विकल्प नभएको भन्दै राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश राष्ट्रपतिले तत्काल स्विकृत गर्नुपर्ने बताए ।

एमाले–माओवादीसहितको वाम गठबन्धन र कांग्रेससहितको लोकतान्त्रिक गठबन्धनबीच राष्ट्रिय सभा गठनको विषयमा विवाद हुँदै आएको छ । वाम गठबन्धनले बहुमतीय मत प्रणालीका आधारमा राष्ट्रिय सभा गठन गर्नु पर्ने अडान लिएको छ भने लोकतान्त्रिक गठबन्धनले एकल संक्रमणीय मतका आधारमा राष्ट्रिय सभा गठन हुनु पर्ने अडान राखेको छ ।

विवादकाबिच मधेशवादी दलहरुले एकल संक्रमणीय मतको पक्ष लिएपछि कांग्रेसलाई बल पुगेको छ ।
राष्ट्रिय सभा गठन विधेयक व्यवस्थापिका संसदबाट पारित हुन नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को निर्णयका आधारमा अध्यादेशमार्फत राष्ट्रपति समक्ष पेश गरेका हुन् । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेशमाथि राजनीतिक सहमति हुनु पर्ने धारणा राखेर प्रकृया अगाडि बढाएकी छैनन् ।

फोरमका महासचिव रामशहाय यादव

यादवले अहिलेकै अवस्थामा मधेशवादी दल सरकारमा सहभागि हुने सम्भावना नरहेको बताएका छन् । आफूहरुले उठाउँदै आएको संविधान संशोधनको माग नै अहिलेको प्रमुख एजेण्डा भएकाले सरकारमा नजाने बताए । मधेशी जनताको हक अधिकार स्थापित गर्नका लागि अब बन्ने सरकार संविधान संशोधन गर्न तयार हुनुपर्नेमा यादवले जोड दिएका छन् ।

“एमाले अध्यक्ष केपी ओली र फोरम अध्यक्ष उपेन्द्र यादवबिचमा सरकार गठनका बारेमा कुरा भए पनि सरकारमा जादैनौँ । संविधान संशोधन नभएसम्म सरकारमा जाने कुरा हुँदैन ।” यादवले भने ।

यादवले प्रदेश नम्बर २ मा राजपा र फोरमकै सरकार बन्ने बताए ।



प्रतिक्रिया दिनुहोस्