Logo

दलहरुको विवादका कारण राष्ट्रपति अप्ठ्यारोमा पर्नुभयो : राष्ट्रपतिका प्रेस संयोजक माधव शर्मा



८ पुस, काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रेस सल्लाहाकार माधव शर्माले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश अध्ययनकै क्रममा रहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै शर्माले अध्यादेशका बारेमा भइरहेको विवाद हटाउन दलहरुले आपसि सहमति गर्नुपर्ने भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीले आफैँ पनि अध्ययन गरिरहेको बताए ।

दलहरु मिलेर नै सहज वाटो खोज्न सकिने भएकाले राष्ट्रपतिले दलहरुलाई आग्रह गरेको शर्माले बताए । दलहरुको बेमेलकै कारण अध्यादेश अगाडि बढाउन राष्ट्रपतिलाई गाह्रो भएको उनको भनाई छ ।

राष्ट्रपति पदको गरिमा कायम राख्नुपर्नेमा दल र तिनका नेताहरुले जोड दिने गरेको भए पनि अहिले अध्यादेशको विवाद झिकेर राष्ट्रपतिलाई अप्ठ्यारोमा पारिएको शर्माको भनाई थियो ।

विवादस्पद रुपमा राष्ट्रपतिलाई तान्ने काम भएको उनको आरोप थियो । संविधानअनुसार राष्ट्रपतिले सरकारले पेश गरेको अध्यादेश स्विकृत गर्नुपर्ने भए पनि दलहरुकै विवादका कारण समस्या भएको उनले बताए ।

शर्माले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशको बारेमा रिपोर्टस क्लब नेपालले बहस गराएको भन्दै प्रशंसा गरेका थिए । विवादको समाधान खोज्न सहज होस भनेर विभिन्न दलका नेता तथा संविधानविद्लाई यस विषयमा क्लबले बहस गराएको भन्दै शर्माले क्लबका अध्यक्ष ऋषि धमलालाई धन्यवादसमेत दिए ।

अन्य संचारमाध्यम र संचारकर्मीले पनि यस विवादलाई समाधन गर्न भूमिका खेलिदिन उनले आग्रह गरेका छन् । “सबै कुरा शितल निवासतर्फ तेस्र्याउनुभन्दा खोज पत्रकारिता गरेर जनतामाझ स्पष्ट पारिदिए हुन्थ्यो नि ।” शर्माले भने ।



प्रतिक्रिया दिनुहोस्