Logo

मुलुकको समृद्धिका निम्ति सबै मिल्नुपर्छ : अध्यक्ष प्रचण्ड



बुटवल, ८ पुस (रासस) : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सबै मिलेर मुलुकको विकास र समृद्धितर्फ लाग्नुपर्ने बताउनुभएको छ । उहाँले लोकतन्त्रको सुदृढीकरण विकास र समृद्धिका निम्ति हुनुपर्नेसमेत बताउनुभयो ।

नेपाल जेसिजको ४४औँ राष्ट्रिय महाधिवेशनलाई आज भैरहवामा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री दाहालले राष्ट्रिय मुद्दाहरुमा सत्तापक्ष र प्रतिपक्षका बीचमा समझदारी कायम गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले मुलुकलाई आर्थिक समृद्धिको पाटोमा अगाडि डो¥याउन सबै दलबीच सहमति, सहकार्य र समन्वयको जरुरी हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “अब ढिला नगरी समृद्ध नेपाल निर्माण गर्नतर्फ लाग्नुपर्छ, मुलुक विकसित भए विश्वले हेर्ने दृष्टिकोणमा समेत परिवर्तन हुन्छ ।”

तीन तहको निर्वाचनपछि मुलुक आर्थिक समृद्धि र विकासको बाटोमा अगाडि बढेको उल्लेख गर्दै उहाँले राजनीतिक दल र नेताका लागि अब परीक्षाको घडी शुरु भएको बताउनुभयो ।

देशमा स्थायित्व दिन नसके मुलुक फेरि पुरानै राजनीतिक चक्रब्यूहमा फस्ने उहाँको भनाइ थियो । अध्यक्ष दाहालले राष्ट्र निर्माण र मुलुकलाई आर्थिकरुपमा सक्षम र सवल बनाउनका लागि युवाको भूमिका थप बढेको बताउँदै देशलाई समृद्ध बनाउन युवालाई अहम् भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा स्वास्थ्य मन्त्री दीपक बोहरा, खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाक, महाधिवेशन निर्देशक महेन्द्रकुमार श्रेष्ठ, नेपाल जेसिजका अध्यक्ष प्रकाश अधिकारीलगायतले बोल्नुभएको थियो । आजदेखि शुरु भएको जेसिजको महाधिवेशन सोमबार नयाँ नेतृत्व चयन गर्दै सकिने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्