Logo

सबै म्यादी प्रहरीको खातामा रकम पुगिसक्यो, कालिकोट घटनाका विषयमा अनुसन्धान गरिरहेका छौँ : प्रवक्ता न्यौपाने



९ पुस, काठमाण्डौ । नेपाल प्रहरीले चुनावका बेला खटाइएका म्यादी प्रहरीलाई तोकिएको सबै सेवा सुविधा दिएर विदाई गरेको दाबी गरेको छ । प्रहरी प्रवक्ता मनोज न्यौपानेले चुनाव सकिएपछि सम्मानकासाथ प्रमाणपत्रसमेत दिएर म्यादी प्रहरीलाई विदाई गरिएको बताए ।

आइतबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै न्यौपानेले कालिकोटमा प्रहरीको गोली लागेर मृत्यु भएको भन्ने विषयमा अनुसन्धान भइरहेको बताए । सेवा सुविधा नपाएकै कारणले म्यादी प्रहरीले आन्दोलन गर्नुपर्ने अवस्था नरहेको दाबी गरे ।

क्लबका अध्यक्ष ऋषि धमलाको अध्यक्षतामा सम्पन्न साक्षात्कारमा बोल्दै कालिकोटमा खटाइएका म्यादी प्रहरीलाई धन्यवादसहित प्रमाणपत्र वितरण गरेर विदाई गरिएको न्यौपानेले बताए । विदाई कार्यक्रम सकिएपछि ढुङ्गामुढा सुरु भएको बताउँदै न्यौपानेले त्यसपछिको घटना के कसरी भयो भन्ने विषयमा अनुसन्धानका लागि समिति बनाएको जानकारी दिए ।

म्यादी प्रहरीलाई बैँक खाता खोल्न लगाएर सबै सेवा सुविधाको रकम बैँक मार्फत दिइएको बताउँदै न्यौपानेले अहिलेसम्म सबै म्यादी प्रहरीको बैँक खातामा रकम गइसकेको बताए । प्रहरीले म्यादीलाई पैसा दिएन वा थोरै पैसा दियो भन्ने सुनिए पनि ति सबै झटो भएको उनको दाबी थियो ।

 

जिल्ला र भौगोलिक अवस्थाका आधारमा भत्ता रकम फरक फरक हुने भएकाले यस विषयमा अन्यौलमा नरहन सबैलाई न्यौपानेले आग्रह गरे । म्यादी प्रहरी भर्ना गर्नुअघि नै तलब र भत्ताका विषयमा जानकारी दिइएको उनको भनाई थियो ।

चुनावी सुरक्षाका लागि ९८ हजार २ सय ६८ म्यादी प्रहरी प्रयोग गरिएको जानकारी दिदै न्यौपानेले प्रहरी जवान सरह तलब दिइएको बताए । ५५ दिनका लागि तलब, रासन भत्ता, खाजा खर्च, कपडा खर्च लगायतका शीर्षकमा दिने भनिएको सबै रकम खातामा पठाइसकिएको न्यौपानेले बताए ।

महिला म्यादी प्रहरीमाथि प्रहरीले दुव्र्यवहार गरेको भन्ने बारेमा पनि अनुसन्धान भइरहेको उनले बताए । संचारमाध्यमबाट घटना सार्वजनिक भएको थाहा पाउनासाथ अनुसन्धान भइरहेको उनको भनाई थियो ।

अन्य कुनै पनि घटनाका बारेमा अहिलेसम्म उजुरी नपरेको न्यौपानले बताए ।



प्रतिक्रिया दिनुहोस्