Logo

प्रधानमन्त्री केपी ओली र पार्टी अध्यक्ष प्रचण्ड नभए पार्टी एकता हुँदैन : नेता पौडेल



पुस ११, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले निर्वाचन आयोगले प्रतिनिधिसभातर्फको समानुपातिक सदस्यको नामावाली सार्वजनिक गरेलगत्तै नयाँ सरकार बन्ने दाबी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै पौडेलले वाम गठबन्धनको विकल्पमा अरु कुनै सरकार बन्न नसक्नेसमेत जिकिर गरे ।

गठबन्धनलाई जनताले अनुमोदन गरेकाले सोही अनुसार चल्नुपर्ने उनको तर्क छ । तत्काल एमाले र माओवादीको शीर्ष नेताहरुको छलफलले सरकार गठन र पार्टी एकता एकसाथ अगाडि बढाइने पौडेलले बताए ।

पदीय भागबण्डाको विषयमा टुङ्गो लाग्न नसके पनि छलफलबाट सहमति खोजिने उनले बताए । पार्टी अध्यक्ष, प्रधानमन्त्री र राष्ट्रपति को बन्ने भन्ने विषयमा अनौपचारिक छलफल मात्रै भएको उनले जानकारी दिए ।

पूर्व प्रधानमन्त्री भइसकेका नेताहरुको व्यवस्थापन मिलाएर गरिने उनको भनाई छ ।
केपी ओली र प्रचण्डमध्ये एकजनाले सरकारको नेतृत्व गर्ने र अर्कोले पार्टीको नेतृत्व गर्ने पौडेलको भनाई छ । एका अर्कालाई निषेध गर्ने गरी नभै सम्मान हुने गरी व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए ।

केपी ओली प्रधानमन्त्री बनेको अवस्थामा प्रचण्डले पार्टी अध्यक्ष पाउनुपर्ने आफ्नो धारणा रहेको पौडेलले बताए । “दुईवटा प्रमुख पदमध्ये एउटा पद केपी ओली र अर्को पद प्रचण्डले लिइसकेपछि त्यसको सन्देश सकारात्मक जान्छ ।” पौडेलले भने ।

पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद केपी ओलीलाई भनेर एमालेका नेताहरुले भनेको सन्दर्भमा पौडेलले चेतावनी दिदै भने, “त्यसलाई त पार्टी एकता नगर्ने, भाँड्ने अभिव्यक्तिको रुपमा लिनुपर्छ ।”



प्रतिक्रिया दिनुहोस्