Logo

क्लिङ्कर आयातमा देखिएको समस्या समाधानका लागि दुई देशबीच उच्च तहमा छलफल गर्ने



विजयकुमार महतो : पर्सा, ११ पुस रासस : क्लिङ्कर आयातमा देखिएको समस्या समाधानका लागि आज वीरगन्जमा त्रिपक्षीय छलफल भएको छ ।

नेपालका लागि आयात हुने क्लिङ्कर रक्सौल रेलवेयार्डमा अनलोड गर्न भारत सरकारले रोक लगाएपछि उत्पन्न समस्या समाधानका लागि भारत तथा नेपाल सरकारका प्रतिनिधि र उद्योगी व्यपारीबीच त्रिपक्षीय छलफल भएको हो ।

वीरगन्जको सिर्सिया खल्वाटोलास्थित सुख्खा बन्दरगाह सञ्चालनको जिम्मा पाएका हिमालयन ट्रमिनल्स् प्रालिको आयोजनामा भएको सो छलफलमा दुवै देशका उच्च अधिकारीबीच छलफल गरी हाल देखिएको समस्या समाधानको प्रयास गर्ने सहमति भएको छ ।

नेपाली सिमेन्ट उद्योगका लागि भारतको विभिन्न स्थानबाट वीरगन्ज नाका हुँदै आयात हुने क्लिङ्कर, जिपसमलगायत कच्चापदार्थका कारण रक्सौलका बासिन्दाले ठूलो प्रदूषण खेप्नु परेको भन्दै रक्सौल रेलवेयार्डमा हुँदै आएको अनलोडमा रोक लगाउँदै अब उपरान्त वीरगन्जकै सुख्खा बन्दगाह मै अनलोड हुने निर्णय भारत सरकारले गरेपछि उत्पन्न परिस्थिति र समस्या समाधान बारे त्रिपक्षीय छलफल भएको हो ।

सो अवसरमा वाणिज्य मन्त्रालयका सहसचिव रवीशंकर सिन्जुले नेपाल सरकारलाई अधिकारिक रुपमा कुनै जानकारी नै नगरी भारत सरकारले रक्सौलमा हँुदै आएको क्लिङ्कर अनलोडिङमा रोक लगाउँदै सिर्सियास्थित सुख्खा बन्दरगाहमा अनलोड गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

उहाँले सिर्सिया सुख्खा बन्दरगाहको निर्माण धुलोयुक्त वस्तुको ओसारपसारका लागि नभएको बताउँदै हाल देखिएको समस्या समाधानका लागि सम्बन्धित सबै पक्ष मिलेर अगाडि बढ्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो ।

सहसचिव सिन्जुले नेपालमा संचालित रहेको ६० प्रतिशत भन्दा बढी सिमेन्ट उद्योगका लागि वीरगन्ज नाकाबाटै क्लिङ्कर तथा जिप्सम आयात हुने भएकाले यसको ओसारपसार गर्ने स्थानको परिर्वतन उच्च तहमा छलफल नगरी गर्न नसकिने स्पष्ट पार्नुभयो ।

कन्टेनर कर्पोरेशन प्रालि भारतका महाप्रबन्धक भी कल्याण रामाले क्लिङ्कर आयात गर्दा धुलो उड्ने र प्रदूषण समेत हुने भएकाले उक्त प्रदूषणलाई नियन्त्रण गर्न अब नेपाली आयातकर्ताले प्रति रेक रु चार लाख ८० हजार अतिरिक्त शुल्क तिर्नु पर्ने धारणा व्यक्त गर्नुभयो ।

अत्याधुनिक उपकरणको प्रयोग गरी भारतबाट आयात हुने क्लिङ्करलाई सुख्खा बन्दरगाह मै अनलोड गर्न सकिने भए पनि आनलोड भएको ४८ घन्टाभित्रै क्लिङ्करलाई आयातकर्ताले ढुवानी गर्नुपर्ने बताउँदै उहाँले सुख्खा बन्दरगामा स्थानको कमी भए पनि भारतबाट आयात गरिएको क्लिङ्करलाई अनलोड र ढुवानी गर्न सकिने विचार व्यक्त गर्नुभयो ।

सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख सूर्या सेढाईले भारत तथा तेस्रो मुलुकबाट रेलमार्फत आउने ८० रेक मालवस्तुको भार हाल बन्दरगाहले थेक्दै आएको र वर्तमान पूर्वधारले थप ३५ रेक क्लिङ्करको भार थेक्न नसकिने जानकारी दिनुभयो ।

नेपालका लागि भारतीय महावाणिज्यदूत विसी प्रधानले नेपालका लागि आयात हुने क्लिङ्करबाट उत्पन्न भएको प्रदूषणको मार भारतीयले खेप्नु जायज नभएकाले सुख्खा बन्दरगाहमा क्लिङ्कर अनलोड गर्ने भारत सरकारले निर्णय गरेको उल्लेख गर्दै क्लिङ्करको कारण नै पुरै रक्सौल प्रदूषित भएको र रक्सौलबासीको स्वास्थ्यमा प्रतिकूल असर परेकाले भारत सरकारले यस्तो निर्णय गर्न बाध्य भएको बताउनुभयो ।

वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अशोक टेमानीले नेपाल सरकार र नेपाली व्यपारीलाई जानकारी नै नदिई भारत सरकारले गरेको निर्णय कार्यान्वयन गर्न ठूलो समस्या देखिएको चर्चा गर्दै सुख्खा बन्दरगाहमा क्लिङ्करको लागि प्रयाप्त स्थान र उपकरणको कमी भएकाले निर्णय कार्यन्वयनका लागि कम्तीमा नेपाली व्यपारीलाई छ महिनाको समय दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष सुबोध गुप्ताले एकै चोटी आयातलाई रोक्नु जायज नभएको र नेपाली पक्षलाई यसको व्यवस्थापन मिलाउन भारत सरकारले समय दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

सो अवसरमा सिमेन्ट उद्योगसंग आवद्ध उद्योगी व्यापारीले १५ दिनभित्र अनलोडिङ स्थललाई व्यवस्थित गर्न नसकिने भएकाले केही महिनाका लागि रु १० करोड खर्च गरेर भए पनि रक्सौल यार्डमै प्रदूषण नियन्त्रण गरी क्लिङ्कर अनलोडिङ गर्ने व्यवस्था मिलाउन भारत सरकारलाई आग्रह गर्दै प्रदूषण नियन्त्रमा लाग्ने शुल्क तिर्न नेपाली व्यापारी तयार छ भन्नुभयो ।



प्रतिक्रिया दिनुहोस्