Logo

आमसञ्चार प्रशिक्षण प्रतिष्ठानका लागि जग्गा दिने



चितवन, १४ पुस  : भरतपुर महानगरपालिकाले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान केन्द्र स्थापना गर्न सकारात्मक देखिएको छ ।

नेपाल पत्रकार महासंघ चितवन शाखाका पदाधिकारीसँग आज बिहान महानगरमा भएको छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघको अगुवाइमा निर्माण हुन लागेको केन्द्रका लागि महानगरभित्र आवश्यक जग्गा उपलब्ध गराउन महानगर सकारात्मक भएको हो ।

छलफलमा महानगर प्रमुख रेनु दाहालले भरतपुरमा नै केन्द्र स्थापना गर्नुपर्ने भन्दै त्यसका लागि आवश्यक जग्गा महानगरले उपलब्ध गराउने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको धुलिखेलमा सम्पन्न दोस्रो पूर्ण बैठकले चितवनमा केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । छलफलमा प्रमुख दाहालले आवश्यक जग्गा कहाँ हुन सक्छ भन्ने खोजी गर्न महासंघका पदाधिकारीलाई आग्रह पनि गर्नुभयो । आउँदो साता भरतपुर महानगरको पहिलो परिषद् हुँदैछ ।

केन्द्र स्थापनाका लागि जग्गा उपलब्ध गराउने विषय परिषद्मा नै निर्णय गराई दिन महासंघले आग्रह गरेको छ । सरकारले सातवटै प्रदेशमा प्रशिक्षण प्रतिष्ठान केन्द्र स्थापना गर्ने तयारी गरिरहेको छ । जसमध्ये एउटा केन्द्रीयस्तरको प्रशिक्षण प्रतिष्ठान केन्द्र बन्ने छ । महासंघले एउटा मात्र केन्द्र स्थापनाका लागि निर्णय गरेकाले चितवनमा बन्ने प्रतिष्ठान केन्द्रयीस्तरको हुने बताइएको छ ।

चितवन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो घोषणापत्रमा नै केन्द्रीयस्तरको प्रशिक्षण प्रतिष्ठान चितवनमा बनाउने उल्लेख गर्नुभएको छ ।

भरतपुर महानगरकी प्रमुख दाहाल अध्यक्ष प्रचण्डकी छोरी हुनुहुन्छ । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टका अनुसार प्रशिक्षण केन्द्र गठन आदेश अन्तिम चरणमा पुगेको छ । नेपाल सरकारको पूर्ण स्वामित्वमा हुने केन्द्रमा पत्रकारका लागि छोटो र लामो समयका तालीम, प्रशिक्षण दिइने छ । नियमित तवरबाट तालीम दिइने यस्ता केन्द्रले पत्रकारिता क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पु¥याउने उहाँले बताउनुभयो ।

नेपाल पत्रकार महासंघको जिल्ला शाखाले भरतपुर महानगरसँग समानुपातिक विज्ञापन, लोककल्याणकारी विज्ञापन नीतिअनुरुप महानगरभित्र रहेका सञ्चारमाध्यममार्फत नै प्रकाशन प्रसारण गर्न, सञ्चारमाध्यमको अभिलेख व्यवस्थापन, संस्थागत बिकास र क्षमता अभिवृद्धि गर्न पनि माग गरेको छ । महासंघ र वडा कार्यालयको सार्वजनिक सुनुवाइ व्यवस्थित गर्न महासंघसँग समन्वय गर्न पनि माग गरेको छ ।

महासंघले पत्रकारको क्षमता अभिवृद्धि गर्न, संस्थागत विकास गर्न, महासंघको भवनलाई मिडिया सेन्टरको रुपमा विकास गर्न आवश्यक सहयोगको पनि अपेक्षा गरेको छ ।

छलफलमा महासंघका अध्यक्ष राधेश्याम खतिवडाले जिल्लामा पत्रकारिता क्षेत्रको हालको अवस्थाका बारेमा जानकारी गराउँदै महानगरलाई आवश्यक सुझाव पनि दिनुभएको थियो । सो अवसरमा महानगर प्रमुख दाहाल र प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले पत्रकारिता क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्न महानगर सकारात्मक रहेको बताउनुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्