Logo

सहरी विकासमन्त्री गिरीलाई पार्टीले फिर्ता बोलायो



काठमाडौं, १४  पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सहरी विकासमन्त्री दिलनाथ गिरीलाई मन्त्री पदबाट फिर्ता बोलाएको छ ।

राप्रपाका तर्फबाट सरकारमा सहभागी मन्त्री गिरीलाई पार्टीको निर्णयअनुसार मन्त्री पदबाट फिर्ता बोलाइएको सो पार्टीका प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा उपप्रधान एवं ऊर्जामन्त्री कमल थापासँग मन्त्री गिरीको चर्काचर्की परेको थियो । विवाद बढ्दै जाँदा दुवैले बैठकमै एक–अर्काको राजीनामासमेत माग गरेका थिए ।

गिरीले अध्यक्ष कमल थापामा सामन्ति संस्कार रहेको भन्दै उनकै अकर्मन्यताका कारण पार्टीले चुनावमा पराजय भोग्नुपरेको बताएका छन् । पराजयको जिम्मेवारी लिँदै थापाले पार्टी अध्यक्ष र उपप्रधानमन्त्रीबाट राजिनामा दिनुपर्ने गिरीले बताए ।

उनले भने, ‘कमल थापाकै कारण पार्टीले चुनाव हारेकाले उनले अध्यक्ष पदबाट तुरुन्त राजिनामा गरेर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ । मैले थापाजीलाई राजिनामा दिउँ भनेर भनेको थिएँ, तर उनी सत्ता भनेपछि पार्टी सिध्याउन पनि तयार हुने मान्छे हुन् ।’

पत्रकार ऋीष धमलासँगको कुराकानीमा मन्त्री गिरीले कमल थापाको सामन्ति र निरंकुशतन्त्रविरुद्ध पार्टी जोगाउन निरन्तर संघर्ष गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्