Logo

पुसभित्रै नयाँ सरकार गठनको संभावना छैन : विष्ट



गुल्मी, १४ पुस : नेकपा (एमाले)का सचिव एवं गुल्मी क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य गोकर्ण विष्टले पुसभित्रै नयाँ सरकार गठनको संभावना नरहेको बताउनुभएको छ ।

गुल्मी सदरमुकाम तम्घासस्थित रेसुुङ्गा वहुमुखी क्याम्पसको ३५ औँ वार्षिकोत्सवको उद्घाटन गर्न आज यहाँ आइपुग्नुभएका विष्टले सञ्चारकर्मीसँगको भेटमा निर्वाचन आयोगले अविलम्व समानुपातिकतर्फको परिणाम घोषणा गर्नुपर्ने भन्दै त्यसपछि मात्र नयाँ सरकारको ढोका खुल्ने बताउनुभयो ।

एमाले र नेकपा (माओवादी केन्द्र)बीच पटक पटक संवाद भइरहेको भन्दै उहाँले पार्टी एकतामा कसैलाई आशंका नगर्न आग्रह गर्नुभयो ।

वाम गठबन्धनमा कुनै प्रकारको जटिलता नरहने गरी सहज ढंगले समाधान निस्कने र त्यसको सहज ढंगले व्यवस्थापन हुनेमा जोड दिँदै उहाँले एकताले केही समय लिन सक्ने स्पष्ट पार्नुभयो ।

५ नंं. प्रदेशको राजधानी रुपन्देहीनै हुनुपर्ने भन्दै नेता विष्टले शान्तिका अग्रदूत गौतमबुद्ध जन्मेको प्रदेशमा राजधानी कहाँ रहने भन्ने विषयमा धेरै विवाद गर्नुपर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्