Logo

नेपालमा चिनियाँ लगानी विस्तार हुँदै, चार आवमा मात्रै ७० अर्व लगानी प्रतिवद्धता



१६ पुस, काठमाण्डौ । पछिल्ला आर्थिक वर्षहरुमा नेपालमा चिनियाँ लगानी बढ्दै गएको छ । तीन आर्थिक वर्ष र चालु आर्थिक वर्षको पाँच महिनामा १३ ठूला परियोजनामा चीनबाट ७० अर्ब रुपैयाँको लगानी प्रतिवद्धता आएको छ ।

आर्थिक वर्ष २०७१–०७२ देखि चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा यो परिमाणको लगानी प्रतिवद्धता आएको हो । उद्योग विभागका अनुसार सबैभन्दा बढी सिमेन्ट उद्योगमा ४२ अर्ब रुपैयाँ लगानी आएको छ । चिनियाँ लगानीका एक अर्बभन्दा बढी लगानी भएका उद्योगको संख्या भने ६ वटा मात्र छ । यसमा तीन वटा सिमेन्ट उद्योग छन् ।

विभागका अनुसार अन्य तीन वटामा दुई वटा होटल र जलविद्युत आयोजना छ ।

सबैभन्दा बढी चिनियाँ लगानी रहेको होङ्सी शिवम सिमेन्ट उद्योगमा चीनको २६ अर्ब १४ करोड रुपैयाँ लगानी छ ।

चिनियाँ लगानीकै ह्वासिन सिमेन्टको १४ अर्ब ८२ करोड रुपैयाँ लगानी स्वीकृत भइसकेको छ । धादिङ र मकवानपुरमा रहेको पानीखर्क चुनढुङ्गा खानी ६० करोडमा यो कम्पनीले किनेको थियो। ०७२ सालमा लगानी स्वीकृत गरेको ह्वासिनले ०७४ मंसिर २९ गते मात्र उद्योग विभागमा उद्योग दर्ता गरेको हो ।

चिनियाँ लगानीका दुई होटलमा तीन अर्ब रुपैयाँ लगानी गरिएको छ । काठमाडौंमा स्थापना हुने वाल्डो डाईनास्टी होटल र दोदगु होटल दुवैमा चिनियाँ लगानी छ ।

वाल्डो तीन सय बेडरुमको होटल हो । मकाउमा रहेको वाल्डो डाईनेस्टीको शाखा होटलको रुपमा काठमाडौंमा होटल स्थापना गर्न लागिएको हो । दोदगु भने १८० बेडरुमको होटल हो । यसमा १५ प्रतिशत नेपाली लगानी छ । वाल्डो डाईनास्टीमा दुई अर्ब र दोदगु होटमा एक अर्ब रुपैयाँ लगानी प्रतिवद्धता आएको छ ।

लगानीको हिसावले दोस्रो ठूलो चिनियाँ आयोजना कालिगण्डकी अपर जलविद्युत आयोजना परेको छ ।

कुल २२ अर्ब रुपैयाँ लागतको उक्त आयोजनामा चिनियाँ कम्पनी सिनोहाईड्रोको २० अर्ब २४ करोड रुपैयाँ लगानी रहने उल्लेख छ।



प्रतिक्रिया दिनुहोस्