Logo

वर्ष २०१७ लाई फर्केर हेर्दा : ट्रम्प, किम जोङ र सी जिनपिङ सबैभन्दा बढि चर्चामा, अरु केके भए ?



१६ पुस, काठमाण्डौ । सन् २०१७ सकिदै छ । भोलीदेखि २०१८ नयाँ वर्षको रुपमा प्रवेश गर्दै छ । वर्ष २०१७ मा विश्व्मा विभन्न घटनाक्रमहरु निरन्तर रुपमा घटिरहे । विश्वभर २०१७ मा भएका घटना र गतिविधिलाई संक्षिप्त रुपमा यहाँ प्रस्तुत गरिएको छ ।

अमेरिकी राष्ट्रपतिका रूपमा डोनाल्ड ट्रम्पले यसै वर्ष शपथ लिए । उनी गत वर्षको अमेरिकी चुनावबाट निर्वा्चित भएका थिए । शपथलगत्तै मध्यपूर्वका ६ मुस्लिम देशका नागरिकहरूलाई ६ महिनासम्मका लागि अमेरिका प्रवेशमा रोक लगाउने निर्णय ट्रम्पले गरे । चाद, इरान, इराक, लिबिया, सोमालिया, सिरिया र यमनका नागरिकमाथि यस्तो प्रतिबन्ध लगाइयो ।

उत्तर कोरियासँगको अमेरिकाको पुरानो शत्रुतामा डोनाल्ड ट्रम्पले घिउ थप्ने काम गरे । उनले पटक पटक उत्तर कोरियाली सर्वोच्च नेता किम उल जोङलाई गाली दिए । ट्रम्पले वर्षको अन्त्यमा जेरुसलमलाई अमेरिकी प्रशासनका तर्फबाट इजरायलको राजधानी स्वीकार्दै प्यालेस्टाइनी तथा विश्वभरका मुसलमानहरूलाई चिढ्याउने काम गरे ।

गत सेप्टेम्बर ३ मा उत्तर कोरियाले छैटौँ पटक आणविक परीक्षण गर्यो । जुन अहिलेसम्मकै सबैभन्दा ठूलो आणविक परीक्षण हो । यस परीक्षणपछि अमेरिका तथा उसका सहयोगी राष्ट्रहरूसँग उत्तरको सम्बन्ध थप बिग्रिएको छ । त्यसो त उत्तर कोरिया वर्षौंदेखि पश्चिमा विश्वसँगको वाकयुद्धमा छ ।

गत नोभेम्बरमा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफूसँग अमेरिकाका कुनै पनि भूभागमा निशाना बनाएर हमला गर्नसक्ने लामो दूरीका मिसाइल रहेको बताए । यसअघि पनि उत्तरले अमेरिकामाथि आणविक हमला गर्ने चेतावनी दिएको थियो ।

अमेरिकाले यस्तो अवस्था सिर्जना भए उत्तरलाई पूर्ण रूपमा ध्वस्त बनाउने चेततावनी दिएको छ ।

चिनियाँ पार्टीको १९औँ महाधिवेशनले सी जिनपिङ विचारधारालाई विधानमै समेट्ने निर्णय गरेपछि उनी निकै शक्तिशाली बनेर निस्किएका छन् । पार्टी विधानमा यसअघि चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक माओ र नेता देङ सियाओ पिङको नाम मात्रै समावेश गरिएको थियो । महाधिवेशनले महासचिवको उत्तराधिकारी तोक्ने परम्परा विपरीत यस पटक सीको उत्तराधिकारी समेत तोकिएको छैन ।

आतङ्कवादीलाई सहयोग गरेको आरोप लगाउँदै साउदी, इजिप्ट, यूएई, बहराइन र यमनले कतारमाथि नाकाबन्दी लगाइदिए । जुन ५ मा यी देशहरूले नाकाबन्दी लगाएपछि तेलको खानी कतार समस्यामा पर्यो । सानो, तर एसियाकै धनाढ्यहरूको बसोबास रहेको यस राष्ट्रमाथि इरानसँग नजिकको सम्बन्ध बनाएका कारण

साउदी सरकारको नेतृत्वमा नाकाबन्दी लगाइएको थियो । इरान साउदी अरेबियाबीच राम्रो सम्बन्ध छैन । कतारले आफूमाथि लागेका आरोप असत्य रहेको बताउँदै आएको छ ।

साउदीका राजा सलमानले सफ्ट ‘कु’ मार्फत आफ्ना छोरा महोम्मद बिन सलमानलाई युवराज बनाइछाडे । यसअघि राजा सलमानका भतिजा महोमद्द बिन नायफ नायफ युवराज थिए भने राजाका छोरा सलमान नायफपछि गद्दीको दोस्रो लाइनमा थिए । तर नायफले गद्दी छाडेसँगै सलमान युवराज बने । उनी साउदीको उपप्रधानमन्त्रीसमेत नियुक्त भए ।
जिम्बाबेका भेट्रान नेता तथा राष्ट्रपति रोबर्ट मुगावेले गत नोभेम्बर २१ मा सत्ता छाड्नुर्पयो । आफ्नै पार्टी र सेनालाई विश्वासमा लिन नसक्दा उनको ३७ वर्ष लामो शासन समाप्त भयो ।

९३ वर्षका मुगावे बेलायतबाट जिम्बाबेलाई स्वतन्त्रता दिलाउने नेता हुन् । स्वतन्त्रतापछि उनी निरन्तर सत्तामा थिए । तर आफ्नी श्रीमतीलाई राष्ट्रपति बनाउने चक्करमा लागेपछि आफ्नै सहयोगीहरूबाट टाढिए । श्रीमानभन्दा ४१ वर्षले कान्छी ग्रेस मुगावेमा राष्ट्रपति बन्ने महत्वाकाङ्क्षा पलाएपछि मुगावे त्यसको मारमा परे । श्रीमतीकै कारण उनले आफ्ना सहयोगी इमर्सन म्नानगाग्वालाई उपराष्ट्रपतिबाट हटाए । त्यसपछि श्रीमतीलाई उपराष्ट्रपति बनाए ।

उपराष्ट्रपति हुँदै राष्ट्रपति बनाउने उनको महत्वाकाङ्क्षा थियो ।
दशौं लाखले यस वर्ष सामाजिक सञ्जालमा ३ मि टु ह्यासट्याग लेखेर अभियान चलाए । हलिउड मुगल हार्भी विन्सटिनलगायत अन्य थुप्रै शक्तिशाली पुरुषहरूले महिलामाथि गरेको यौन शोषणको विरोधमा यस्तो अभियान चलाइएको हो ।

अक्टुबर ५ मा द न्युयोर्क टाइम्सले हार्भी विन्सटिनबारे सनसनीपूर्ण खुलासा गरेको थियो । उनले महिलाहरूमाथि बलात्कार गरेर घटना लुकाउनका लागि दशकौँसम्म पैसा तिर्ने गरेको समाचारमा उल्लेख थियो ।
यो समाचार डढेलोझैँ विश्वभर फैलियो । महिला अधिकारवादीका आगो जसरी प्रस्तुत भए । फिल्म, टेलिभिजन, पत्रकारिता र राजनीतिमा लामो समयदेखि महिलामाथि शोषण हुने गरेका विषयहरू एकपछि अर्को गर्दै खुलासा भए ।

पछिल्लो समय अमेरिकी राष्ट्रपति ट्रम्पका विरोधीहरूले पनि उनले गरेका यौन शोषणबारे छानविन हुनुपर्ने माग राखेका छन् । ट्रम्पमाथि पनि यौनहिंसाका थुप्रै आरोप छन् ।

डिसेम्बर ९ मा इराकी सेनाले आईएसआईएस विरुद्धको लडाइँमा जित हासिल गरेको घोषणा गर्यो । मोसुलमा इराकी सेनासँग पराजित भएको आईएसले सिरियाको राका पनि गुमायो । कुनै समय आफैंले तदाकथित ‘क्यालिफेट (इस्लामिक रामराज्य)’ घोषणा गरेका यी क्षेत्र गुमेसँगै आईएस पराजित भयो ।

७ वर्षसम्म इराक र सिरियाका थुप्रै ठाउँमा कब्जा जमाएको आईएस अब पहिलेजस्तो सुदृढ रहेन । रुसले पनि इस्लामिक स्टेट विरुद्धको लडाइँमा आफ्ना सेनाले जित निकालेको भन्दै गर्वसाथ घर फर्कन सैनिकहरूलाई आग्रह गरिसकेको छ ।

सन् २०१७ को सुरुवाती दिन नै ठूलो आतङ्कवादी हमला भयो । टर्कीको इस्तानबुलमा ‘न्यु इयर पार्टी’ गर्न नाइट क्लब गएकाहरूमाथि भएको हमलामा ३९ को ज्यान गयो । त्यसपछि म्यानचेस्टर, न्युयोर्क र बार्सीलोनाजस्ता सुरक्षित मानिएका सहरमा पनि हमला भए ।

हमलाको क्रम वर्षभरि नै जारी रह्यो । सोमालियामा गत नोभेम्बरमा ट्रकमा बिस्फोट हुँदा ५ सयभन्दा धेरैको ज्यान गयो । इजिप्टको व्यस्त मस्जिदमा आक्रमण हुँदा ३ सयभन्दा धेरैले ज्यान गुमाए । वर्षभरि आतङ्कवादको त्रास कायम रह्यो ।

अक्टुबर १ मा स्पेनको दक्षिणपूर्वमा रहेको धनी राज्य क्याटालोनियामा जनमत सङ्ग्रह भयो । स्पेनको केन्द्रीय सरकारले यस जनमत सङ्ग्रह असंवैधानिक भएको ठहर गर्यो । जनमतसङ्ग्रहको परिणाम सार्वजनिक गर्दै २७ अक्टुबरमा क्लाटलानका संविधान निर्माताहरूले यो राज्यलाई स्पेनबाट स्वतन्त्र घोषणा गरे ।

तर अलग देश बनाउने क्याटलानको सपना पूरा हुन पाएन । बरु भएका अधिकार पनि स्पेन सरकाले खोस्यो । यस राज्यको स्वायत्तता हनन गर्दै स्पेनले राज्य सरकारलाई विघटन गर्यो । यहाँ केन्द्रीय शासन लागू भयो । स्पेन सरकारले नयाँ निर्वाचनको घोषणा गर्यो । यसअघि क्षेत्रीय राष्ट्रपति रहेका कार्लेस पुइग्डिमोन्टमाथि राज्यद्रोहको आरोप लगाइयो । उनी अहिले बेल्जियममा शरण लिइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्