Logo

निर्वाचन आयोगलाई एमालेको चेतावनी : कानुनको पाठ अयोधीजीले हामीलाई सिकाउनुपर्दैन



अयोधि भन्छन्, “एमालेका नेताले कानुन बुझ्नुपर्छ”

१६ पुस, काठमाण्डौ । राष्ट्रियसभा निर्वाचनसम्बन्धी अध्यादेश जारी भएपछि पनि नयाँ सरकारका बारेमा सहव वातावरण बन्न सकेको छैन । सरकारको नेतृत्व गर्न तयार भएर बसेको एमालेका नेताहरुले निर्वाचनको परिणाम सार्वजनिक गर्न आयोगले आलटाल गरेको भन्दै आपत्ति जनाएका छन् ।

उता प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले भने कानुनी रुपमा प्रतिनिधिसभातर्फको नतिजा सार्वजनिक गर्न नसकिने बताएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै यादवले संघमा ३३ प्रतिशत महिलाको सुनिश्चित गर्नका लागि पहिला राष्ट्रियसभाको चुनाव गर्नुपर्ने बताएका थिए ।

एमालेले भने नयाँ सरकार गठनका लागि राष्ट्रियसभाको भूमिका नहुने तर्क गर्दै प्रतिनिधिसभातर्फ समानुपातिकको नतिजा सार्वजनिक भएलगत्तै नयाँ सरकार गठन हुन सक्ने बताएको छ ।

तर राष्ट्रियसभामा महिलाको प्रतिनिधित्व संविधानअनुसार पूरा हुन नसकेको खण्डमा प्रतिनिधीसभाको समानुपातिकबाट पूरा गर्नुपर्ने भएकाले पहिला राष्ट्रियसभा गठन गर्नुपर्ने अवस्था रहेको यादवको भनाई छ ।

आइतबार नै एमालेका उपमहासचिव विष्णु पौडेलले प्रतिनिधीसभातर्फ समानुपातिकको परिणाम सार्वजनिक गर्न कुनै समस्या नभए पनि आयोगले आलटाल गरेको आरोप लगाएका थिए ।

पौडेलले निर्वाचन आयोगले प्रतिनिधीसभातर्फ समानुपातिकको नतिजा तत्काल सार्वजनिक गर्नुपर्ने मागसमेत गरेका छन् ।
संविधान अनुसार संघीय संसदमा ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्ने भएकाले राष्ट्रियसभाको नतिजा पछि महिलाको सहभागिता कति थप्नुपर्ने हो त्यो प्रतिनिधीसभाको समानुपातिकबाट पूर्ति गर्नुपर्ने यादवले बताएका छन् ।

एमालेकै नेता तथा कानुनविद्समेत रहेका सुवास नेम्वाङले पनि निर्वाचन आयोगको भूमिकामाथि आशंका उब्जिएको बताएका थिए ।

पूर्व सभामुखसमेत रहेका नेम्वाङले प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको एक महिना पुग्न लाग्दा पनि आयोगले समानुपातिकतर्फको नतिजालुकाएर राखेको आरोप लगाएका थिए ।

यसैगरी यादवले राष्ट्रियसभाको चुनावका लागि प्रदेश प्रमुख पहिला तोक्नुपर्ने कानुनी व्यवस्था भएको जानकारी गराएका छन् । राष्ट्रियसभाको चुनावका मतदाता प्रदेश सासंद भएकाले उनीहरुले पहिला शपथ ग्रहण गर्नुपर्ने उनले बताए ।

तर एमालेले भने अहिलेको सरकारले प्रदेश प्रमुख तोक्न नहुने भन्दै चेतावनी दिएको छ । एमाले अध्यक्ष केपी ओलीले त प्रधानमन्त्री शेरबहादुर देउवाले तोकेको प्रदेश प्रमुखबाट प्रदेश सासंदले शपथ नै नखाने अभिव्यक्ति दिएका थिए ।

यता यादवले भने शपथ खानका लागि प्रदेश प्रमुखको आवश्यकता रहेको बताएका हुन् ।



प्रतिक्रिया दिनुहोस्