Logo

तत्काल समानुपातिकको नतिजा सार्वजनिक नगरे आन्दोलन गर्ने चेतावनी



काठमाडौं, १७ पुस । वामपन्थी गठबन्धनका युवा र विद्यार्थी संगठनले प्रमुख निर्वाचन आयुक्तलाई भेटेर राजनीतिक दलका नेतालाई संविधान पढाउने प्रयास नगर्न चेतावनी दिएका छन् ।

उनीहरुले तत्काल समानुपातिकको नतिजा सार्वजनिक नगरे सडक आन्दोलनमा जाने बताएका छन् । एमालेसम्बद्ध युवा संघ नेपाल, अनेरास्ववियु र माओवादीसम्बद्ध वाईसीएल नेपाल र अखिल क्रान्तिकारीको तर्फबाट ज्ञापनपत्र बुझाउँदै आयोगले प्रतिनिधिसभालाई पूर्णता दिन नचाहेको भन्दै असन्तुष्टि जनाएका हुन् ।

देशलाई अन्यौलबाट मुक्त गरी स्थिर सरकार गठनको बाटो सहज बनाउन उनीहरुले आयोगलाई आग्रह गरेको अनेरास्विवयुका प्रवक्ता आरसी लामिछानेले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने राष्ट्रियसभा गठन नभई प्रतिनिधिसभाको पूर्णता हुन संवैधानिक र कानुनी जटिलता रहेको बताएका थिए । उनले संघीय संसदमा प्रत्येक दलको ३३ प्रतिशत महिला प्रतिनिधित्व हुनुपर्ने र त्यसका लागि राष्ट्रियसभा चुनाव हुनुपर्ने बताए ।

प्रमुख निर्वाचन आयुक्त यादवलाई बुझाइएको ज्ञापनपत्रमा युवा संघ अध्यक्ष राजिव पहारी,अखिल अध्यक्ष नविना लामा,वाइसिएल अध्यक्ष रामप्रसाद सापकोटा र अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङले हस्ताक्षर गरेका छन् । यद्धपी आयोग कार्यालयमा पहारी र लामा गएका थिएनन् ।



प्रतिक्रिया दिनुहोस्