Logo

रिपोर्टर्स क्लबमा बोलेको विषयलाई लिएर प्रमुख निर्वाचन आयुक्त र एमाले नेता नेम्बाङवीच सवालजवाफ



काठमाडौं, १७ पुस । प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम सार्वजनिक गर्न ढिलाई भएकोप्रति एमाले र माओवादी केन्द्रका नेताहरु निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।

सुवास नेम्बाङको नेतृत्वमा भीम रावल, अग्नि खरेल र माओवादीका तर्फबाट नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु आज आयोगको कार्यालय पुगेर ध्यानाकार्षण गराएका हुन । छलफलको सुरुवातमै एमाले नेताहरुले प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवलाई कडा प्रश्न तेर्साएका थिए । स्रोतका अनुसार एमाले नेता नेम्बाङले हिजो क्लबमा गएर प्रमुख निर्वाचन आयुक्त यादवले बोलेको कुराको गम्भिर आपत्ति जनाए । यादवले हिजो क्लबको साक्षात्कारमा एमाले नेताहरुले कानून नबुझेको आरोप लगाएका थिए ।

निर्वाचन परिणाम घोषणा लगायत समग्र प्रक्रियामा निर्वाचन आयोगले गरेको ढिलाईका कारण नयाँ सरकार गठनको बाटो लम्बिएको भन्दै वाम गठबन्धनले ध्यानाकर्षण गराएको हो ।
प्रतिनिधिसभा अन्तर्गत प्रत्यक्षतर्फको नतिजा सकिएपनि समानुपातिक तर्फको सिट बाँडफाँट गरी टुंग्याउन आयोगले ढिलाई गरेकोमा बिभिन्न शंका उत्पन्न भएका छन् ।

निर्वाचन आयोगले संवैधानिक र कानुनी जटिलताका कारण तत्काल प्रतिनिधिसभा समानुपातिकतर्फको निर्वाचन परिणाम सार्वजनिक गर्न सक्ने अवस्था नरहेको स्पष्ट पारेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले संविधान, कानुन, निर्वाचन नियमावली र निर्दे्शिका अनुसार पनि तत्काल प्रतिनिधिसभा समानुपातिकतर्फको निर्वाचन परिणाम सार्वजनिक गर्न सक्ने अवस्था नरहेको प्रष्टयाएका थिए ।

उनले राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभई प्रतिनिधिसभा समानुपातिकतर्फको निर्वाचन परिणाम सार्वजनिक गर्न नमिल्ने अडान पनि दोहो¥याएका हुन् । प्रमुख निर्वाचन आयुक्त यादवले संघीय संसदमा एक तिहाई महिला प्रतिनिधित्व सुनिश्चित गराउने संवैधानिक प्रावधान रहेकाले पनि प्रतिनिधिसभा समानुपातिकतर्फको निर्वाचन परिणाम सार्वजनिक गर्न नमिल्ने कुरा बुझिदिन पनि सबैमा आग्रह गरे ।

प्रमुख निर्वाचन आयुक्त यादवले संवैधानिक निकाय भएकाले संविधानले निर्देश गरे अनुसार आयोगले आफ्नो कार्य सम्पादन गरिरहेको पनि स्पष्ट पारे । आयोगले छिटोभन्दा छिटो निर्वाचन मतरिणाम सार्वजनिक गर्ने तयारी गरिरहेको उनले विश्वास दिलाए । उनले चाँडो भन्दा चाँडो नयाँ सरकार गठन होस् भन्ने पक्षमा आफूहरु रहेको बताउँदै त्यतातर्फ आफूहरुको ध्यान आकृष्ट भएको पनि जानकारी दिए ।

त्यस्तै उनले हिजो क्लबमा भएको साक्षात्कारमा आफूले एमाले नेताहरुले कानुन नबुझेको भनेर अभिव्यक्ति नदिएको समेत स्पष्ट पारेका थिए । उनले भने,“क्लबका सभापति ऋषि धमलालाई सोध्नुहोस्, मैले सुवासजीले कानून बुझेको छैन भनेर भनेकै छैन, म यस्तो कुरा कहिल्यैपनि गर्ने मान्छे होईन।”

यता नेम्बाङले पनि आफू र अयोधिवीच कुरा हुँदा यी सबै कुरा स्पष्ट भएको जानकारी दिए ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्