Logo

ग्राण्डी, बी एण्ड बी, न्यूरो, नर्भिक, र इसान हस्पिटललाई कारबाही गर्न महानगरीय प्रहरीलाई पत्राचार



१७ पुस, काठमाडौं । उपत्यकामा संचालित ठूला अस्पतालहरुले सेवा दिने नाममा ठगेको पाइएको छ । नाम चलेका, ठूला भनिएका र गुणस्तरीय सेवा दिने भनेर चर्चा गरिएका अस्पतालहरुले नै ठगेको पाइएको हो ।

स्वास्थ्योपचारका लागि आउने विरामीबाट अतिरिक्त रकम लिएर ठगी गरेको भन्दै थप अनुसन्धान गरी कारवाही चलाउन आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले महानगरीय प्रहरी परिसरमा पत्राचार गरेको छ ।

 

विभागले सोमवार काठमाडौंको धापासीस्थित ग्राण्डी इन्टरनेसनल हस्पिटल, ग्वार्कोस्थित बी एण्ड बी हस्पिटल प्रालि, बाँसबारीको नेसनल इन्टिच्यूट अफ न्यूरोलोजिकल एन्ड एलिड साइन्स (न्यूरो हस्पिटल), थापाथलीको नर्भिक इन्टरनेसनल हस्पिटल र बसुन्धाराको इसान बाल हस्पिटल विरुद्ध ठगी मुद्दामा थप छानविन गरी मुद्दा दायर गर्न प्रहरी परिसर टेकुमा पठाएको हो ।

विभागले बजार अनुगमनका क्रममा विरामीबाट अतिरिक्त शूल्क लिएको पाइएपछि ती अस्पतालहरूविरुद्ध थप अनुसन्धान गरी मुद्दा दायर लगायतका कारवाही प्रक्रिया चलाउन प्रहरीलाई पत्राचार गरेको हो ।

विभागले गत मंसिर अन्तिम साता ती अस्पतालमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा दोषी देखिएपछि वयान लगायतका प्रक्रिया पूरा गरेर विभागले बाँकी अनुसन्धान र मुद्दा प्रक्रियाका लागि प्रहरीलाई पत्राचार गरेको हो ।

बजार अनुगमनका क्रममा ग्रान्डी हस्पिटलले ‘डाक्टर एण्ड नर्सिङ केय’ र ‘नर्सिङ केयर’ चार्जको नाममा अतिरिक्त शीर्षक थपेर विरामीबाट थप शुल्क असुलेको भेटिएको थियो । बी एन्ड बी हस्पिटलले बेड सर्भिस चार्जका नाममा विरामीबाट अतिरिक्त शूल्क असुलेको देखिएको थियो । त्यस्तै, न्यूरो र नर्भिकले पनि विरामीबाट अतिरिक्त सर्भिस चार्ज लिएको पाइएको थियो ।



प्रतिक्रिया दिनुहोस्