Logo

प्रचण्डलाई प्रधानमन्त्री बनाउने वाम गठबन्धनको तयारी



काठमाडौं, १८ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अब बन्ने सरकारको प्रधानमन्त्री बनाउनेगरि एमाले–माओवादी केन्द्रको वाम गठबन्धनले आन्तरिक तयारी थालेको छ ।

प्रचण्ड प्रधानमन्त्री भएपछि एकतापछिको पार्टीको अध्यक्ष भने एमाले अध्यक्ष केपी शर्मा ओली नै बन्ने पनि गठबन्धनको तयारी रहेको छ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निजी निवासमा आज पनि यसबारेमा छलफल भएको थियो । माओवादी नेता रामनारायण विडारीले पत्रकार ऋषि धमलालाई दिएको जानकारी अनुसार आजपनि दुईवटा मापदण्डमा छलफल भएको थियो । पहिलो, प्रचण्ड अध्यक्ष र ओली प्रधानमन्त्री । यदि त्यसमा सहमति भएन भने प्रचण्ड प्रधानमन्त्री र ओली नै एकतापछिको पार्टीको अध्यक्ष बन्ने रहेको छ ।

माओवादी केन्द्रको अहिले बैठक जारी छ। सुरुदेखि नै पार्टी अध्यक्ष र प्रधानमन्त्री को बन्नेबारे गठबन्धनमा चर्को विवाद रहेको छ। सोही विवाद अनुसार अहिलेसम्म एकता संयोजन समितिको बैठक बस्न सकेको छैन् ।

एमालेले तत्काल पार्टी अध्यक्षमा प्रचण्डलाई नस्विकार्ने संकेत गरेपछि माओवादी केन्द्रका शीर्ष नेताहरु नै झस्किएका छन् ।



प्रतिक्रिया दिनुहोस्