Logo

चुनावमा करोडाँै खर्च गरेका उम्मेदवारले बुझाए २५ लाखभन्दा कम खर्च गरेको विवरण



ओलीको चुनाव खर्च २४ लाख, सिटौलाको २३ लाख

१८ पुस, झापा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका चार नेतासहित ३० जनाले चुनावी खर्च विवरण बुझाएका छन् ।

गत मंसिर २१ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ ५७ र प्रदेशसभातर्फ ८४ जना गरी १४१ उम्मेदवारमध्ये ३० जनाले १९ दिनभित्रै चुनावी खर्चको विवरण बुझाएका हुन् । खर्च विवरण बुझाउनेमध्ये ११ जना प्रतिनिधिसभा सदस्य र १९ जना प्रदेशसभा सदस्यका उम्मेदवार छन् ।

शीर्ष नेतातर्फ झापा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला, क्षेत्र नं. ५ बाट नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, क्षेत्र नं १ बाट नेकपा (माओवादी केन्द्र) का नेता सुरेन्द्रकुमार कार्की र सोही क्षेत्रबाट कांग्रेस नेता विश्वप्रकाश शर्माले आआफ्नो चुनावी खर्च विवरण बुझाएका हुन् ।

एमाले अध्यक्ष ओलीले २४ लाख १ हजार १ सय ६० रुपैयाँ, काँग्रेस नेता सिटौलाले २२ लाख ६८ हजार रुपैयाँ, माओवादी केन्द्रका नेता कार्कीले २४ लाख १० हजार रुपैयाँ र कांग्रेस नेता शर्माले २१ लाख ६८ हजार रुपैयाँको खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसैगरी, क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कांग्रेसका डा. खगेन्द्र अधिकारीले २४ लाख ७५ हजार रुपैयाँ, क्षेत्र नं ४ बाट एमालेका लालप्रसाद साँवा लिम्बूले २३ लाख ६३ हजार, क्षेत्र नं ३ बाट राष्ट्रिय जनता पार्टीका सुन्दरलाल साहले ६ लाख ५० हजार रुपैयाँ, क्षेत्र नं ४ बाट एकीकृत राप्रपा (राष्ट्रवादी) का तेजबहादुर थापाले ३ लाख ५ हजार रुपैयाँ, क्षेत्र नं ३ बाट विवेकशील साझा पार्टीका साजन सुब्बाले ६३ हजार रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन् । क्षेत्र नं २ बाट देशभक्त जनगणतान्त्रिक मञ्चका हेमचन्द्र घिमिरेले ६५ हजार रुपैयाँ र विवेकशील साझा पार्टीका नवीन बाँस्तोलाले १ लाख ९ हजार २ सय रुपैयाँ खर्च भएको विवरण पेश गरेका छन् ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवारले २५ लाख रुपैयाँ र प्रदेशसभा सदस्य उम्मेदवारले १५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने खर्च सीमा निर्धारण गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्