Logo

आगामी मनसुनसम्म ६० प्रतिशत घर निर्माण गरिने : प्रमुख भुसाल



गुल्मी, १९ पुस : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आगामी मनसुनसम्म भूकम्पपीडितको ६० प्रतिशत घर निर्माण भइसक्ने बताउनुभएको छ ।

सबै गाउँपालिका र नगरपालिकामा प्राविधिक पुगेपछि भूकम्पपीडितमा उत्साह थपिएकोे र पुनःनिर्माणले पनि गति लिएको उहाँले बताउनुभयो ।

भूकम्पपीडितका गुनासा सुन्न र समस्या समाधान गर्ने उद्देश्यले स्थलगत अनुगमनका क्रममा प्राधिकरणको एक टोलीसहित एकसाता लामो जिल्ला भ्रमणमा निस्कनुभएका कार्यकारी अधिकृत भुसालले गुल्मीमा लाभग्राही, स्थानीय जनप्रतिनिधि, राजनीतिक दल र स्थानीय सञ्चार माध्यमसँगको अन्तक्र्रिया कार्यक्रममा उक्त कुरा बताउनुभएको हो ।

कतिपय ठाउँमा प्राविधिकहरु समयमा जान ढिलो गरेका कारण पीडितले आफ्नै तरिकाले घर बनाइसकेको हुँदा त्यसलाई कसरी सम्बोधन गर्ने भन्नेबारेमा पनि पुनःनिर्माण प्राधिकरणले केही पुनर्विचार गर्न लागेको उहाँले बताउनुभयो ।

प्राधिकरणले गति लिन नसकेको मूल समस्या भनेको प्राविधिक कर्मचारीहरु स्थानीय तहमा गएर भूकम्पपीडितलाई दोस्रो किस्ता निकाल्नका लागि सहजीकरण गर्न नसकेको उहाँको भनाइ थियो ।

उक्त समस्या समाधानका लागि अहिले गाउँपालिका र नगरपालिकाअन्तर्गत कर्मचारी खटाइसकेको र प्राविधिकले गाउँगाउँमा पुगेर आफ्नो काम शुरु गरेको हुँदा अहिले पुनःनिर्माणले तीव्रता लिएको उहाँको दाबी थियो । अनुगमनका क्रममा कतिपय ठाउँमा कामदारको अभाव रहेको देखिएको भुसालले बताउनुभयो ।

गुल्मीमा लाभग्राही सूचीमा परेका भूकम्पपीडितको संख्या चार हजार १४४ रहेकामा हालसम्म तीन हजार ५६८ जनाले पहिलो किस्ताबापतको रकम सम्झौता गरेर लगिसकेको जिल्ला समन्वय समितिका कार्यक्रम अधिकृत शंंकरप्रसाद गौतमले जानकारी दिनुभएको छ ।

जिल्लाको मदाने, धुर्कोट, तम्घास र पूर्तिघाटमा सम्पन्न अन्तक्र्रिया एवं छलफल कार्यक्रममा लाभग्राही एवं स्थानीय जनप्रतिनिधिले पुनःनिर्माण कार्य ढिलो भएको बताउँदै यसलाई तीव्रता दिनुपर्नेमा जोड दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्