Logo

सरकारले तोक्ने र नियुक्त गर्ने विषयमा हाम्रो चासो छैन् : रावल



काठमाडौं, २१ पुस । प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुख नियुक्त गर्ने विषयमा बाम गठबन्धन दुई पाईला पछाडी हटेको छ ।

निर्वाचन लगत्तै अहिलेको सरकारले प्रदेश प्रमुख र अस्थाई राजधानी तोक्न नमिल्ने बताउदै आएको बाम गठबन्धनले केही दिन अगाडी सम्म आफुहरुको सहमतीमा मात्रै यस विषयमा निर्णय गर्नु पर्ने अडानमा रहेको थियो । तर अहिले भने प्रदेश प्रमुख नियुक्त गर्ने र अस्थाई राजधानी तोक्ने निर्णय सरकारले चाडो गर्नु पर्ने र यस विषयमा आफुहरुको कुनै चासो नरहेको बताउन थालेको छ ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सरकारले तोक्ने र नियुक्त गर्ने विषयमा आफुहरुको चासो नभएको स्पष्ट पारेका छन् । रावलले आफुहरु कुनै ठाँउको राजधानी बनाउने पक्षमा अहिले स्पष्ट नभएको बताउदै प्रदेश सभा बनेपछि मात्रै निर्णय गर्ने जानकारी दिए ।

डोटीमा भएको आन्दोलन बारे थाहा नभएको उनले प्रतिक्रिया दिए । कुन ठाँउलाई अस्थायी राजधानी बनाउने र कुन व्यक्तिलाई प्रदेश प्रमुख बनाउने भनेर सरकारले मागेको सुझावमा आफ्नो तर्फबाट कुनै सुझाव नरहेको नेता रावलले स्पष्ट पारे ।

हिजो भएको सर्वदलीय बैठकमा बाम गठबन्धनका नेताहरुले कुनै सुझाव दिन नसकेपछि सरकारले आफ्नै तरिकाले तयारी थालेको छ । प्रदेश प्रमुख नियुक्ति, प्रदेश अस्थायी मुकाम र राष्ट्रियसभा चुनावको मिति तय गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले आज थप परामर्श गर्न लागेका छन् ।

उनले आज आन्तरिक तयारी पुरा गरेर संभवतः आईतबार वा सोमबार मन्त्री परिषद्को बैठक बोलाएर प्रदेश प्रमुख नियक्ति, मुकाम तथा राष्ट्रियसभा निर्वाचनको मिति बारे निर्णय गर्ने तयारी गरेको प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्