Logo

मापदण्ड विपरीत सञ्चालन भएका काभ्रे जिल्लाका तीन वटा ग्यास उद्योग सरकरादले बन्द गरायो



२१ पुस, काठमाण्डौ । गुणस्तर तथा नाप तौल विभागले मापदण्ड विपरीत सञ्चालन भएका काभ्रे जिल्लाका ग्यास उद्योगलाई उत्पादन तथा बिक्री वितरण नगर्न शनिबार निर्देशन दिएको छ। विभागका निर्देशक मनोजकुमार उपाध्यायको नेतृत्वमा आएको टोलीले सगरमाथा, सूर्य र चण्डेश्वरी ग्यास उद्योगमा अनुगमन गरेपछि उत्पादन र बिक्री वितरण नगर्न निर्देशन दिएको हो ।

अनुगमन गरेका ग्यास उद्योगमध्ये सगरमाथा ग्यास उद्योगले नेपाल गुणस्तर प्रमाण चिह्न लिनको लागि फारम भरेको तर चिह्न प्राप्त नगरेको भेटिएको थियो । सगरमाथाबाहेक अरु ग्यास उद्योगले भने नेपाल गुणस्तर चिह्न लिनको लागि फारम समेत भरेका छैनन् ।

ती ग्यास उद्योगहरुले भरेका सिलिण्डरबाहेक अन्य सिलिण्डरहरु भर्न र उत्पादन एवं बिक्री वितरण गर्न नपाउने गरी विभागले निर्देशन दिएको छ ।
नेपाल सरकारले ग्यास उद्योगमा तोकेको गुणस्तर (एनएस ५३३) अनिवार्य रुपमा पूरा गरेको हुनुपर्नेमा त्यो नभएको कारण ती उद्योग सञ्चालकलाई तीन दिनभित्र विभागमा आउन निर्देशन दिएको हो ।

सरकारले राजपत्रमा २०७३ कात्तिक २९ गते सूचना प्रकाशित गरेर ३ महिनाभित्रमा गुणस्तर चिह्नका लागि फारम भरेर लिइसक्नुपर्ने बताए पनि ती उद्योगहरुले नलिएको पाइएको छ । केही उद्योगले सेफ्टी भल्वसमेत आफैले मर्मत गरेर बजारमा पठाएको देखिएको अनुगमन टोलीले बताएको छ ।

सगरमाथा ग्यास उद्योगका सञ्चालक अमृत अग्रवालले भने एकैचोटी ग्यास उद्योग बन्द गर्दा उद्योगी र ग्राहकलाई समेत मर्का पर्ने भन्दै केही समय दिएर निश्चित मापदण्ड पूरा गरी व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग राखेका छन् ।

तर सरकारले राजपत्रमा २०७३ कात्तिक २९ गते सूचना प्रकाशित गरेर ३ महिनाभित्रमा गुणस्तर चिह्नका लागि फारम भरेर लिइसक्नुपर्ने बताएको थियो ।
जिल्लाको सूर्य ग्यास र चण्डेश्वरी ग्यास सुधीर पलाञ्चोके र विष्णुहरि कक्षपतिलगायतले सञ्चालन गरेका छन् ।

काभ्रेपलाञ्चोक जिल्लामा यसबाहेक उग्रचण्डी र हिमाल ग्यास उद्योग पनि सञ्चालनमा छन् । यी उद्योगले नेपाल गुणस्तर प्रमाण चिह्न लिएका छैनन् । गुणस्तर चिह्न प्राप्त नगरेकै कारण अब काभ्रेपलाञ्चोकमा सञ्चालनमा रहेका सबै ग्यास उद्योगहरुले ग्यास उत्पादन तथा बिक्री वितरण गर्न पाउने छैनन् ।



प्रतिक्रिया दिनुहोस्