Logo

संविधानकै कारण सत्ता हस्तान्तरणमा ढिलाइ : सहअध्यक्ष श्रेष्ठ



काठमाडौँ, २१ पुस  : संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले संविधानमा रहेको कमजोरीका कारण सत्ता हस्तान्तरणमा ढिलाइ भएको बताउनुभएको छ ।

समाजवादी विद्यार्थी फोरमले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले निर्वाचन सम्पन्न भएको एक महिना भइसक्दा पनि सत्ता हस्तान्तरण नहुनु विडम्बना हो भन्दै तीन ठूला दलले उत्कृष्ट संविधान बनाएको भने पनि अहिले त्यही संविधानको बन्दी हुनुपरेको टिप्पणी गर्नुभयो ।

सहअध्यक्ष श्रेष्ठले भन्नुभयो, “एमाले अध्यक्ष केपी ओली अहिले संविधानको बन्दी बन्नुभएको छ । प्रधानमन्त्रीले राजीनामा गरे सत्ताको रिक्तता आउँछ, अर्को प्रधानमन्त्री हुन संघीय संसदीय दलको नेता हुनुपर्छ, त्यसका लागि राष्ट्रियसभाको निर्वाचन हुनैपर्छ संविधानकै कमजोरीले यो अवस्था आएको हो ।”

उहाँले पहिचान र अधिकार, सुशासन र समृद्धिको एजेण्डा पार्टीको मुख्य मुद्दा भएकाले यसलाई संविधान संशोधन गरेर सम्बोधन गरिए समृद्धिको दिशामा सहकार्य गरेर अघि बढ्न तयार रहेको धारणा राख्नुभयो ।

समाजवादी फोरमका प्रदेश सांसद जयराम यादवले पहिचान र राजनीतिक अधिकार प्राप्तिका लागि सबै क्षेत्रबाट दबाब चाहिने उल्लेख गर्नुभयो ।

समाजवादी विद्यार्थी फोरमका अध्यक्ष विवेक राईले संघीय शासन र पहिचानको अधिकार सुनिश्चित नहुञ्जेल संघर्षका कार्यक्रम जारी राख्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीको भ्रातृ संगठन राप्रपा विद्यार्थी संघ परित्याग गरेका विभिन्न विद्यार्थी नेता समाजवादी विद्यार्थी फोरममा प्रवेश गरेका थिए । (रासस)



प्रतिक्रिया दिनुहोस्