Logo

हामी सरकार छोड्न आँतुर छौं : सिँचाईमन्त्री गौतम



मुलुकको आर्थिक समृद्धिको लागि सबै मिलेर अघि बढनुपर्छ : धमला
काठमाडौं, २२ पुस । सिँचाईमन्त्री एवम् नेपाली कांग्रेसका नेता सञ्जयकुमार गौतमले मुलुक अब राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको यात्रामा अघि बढेकोले सबैले हातमा हात र काँधमा काँध मिलाएर हिँड्नुपर्ने बेला आएको बताएका छन् ।

शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर २६ स्थित् त्रिवेणी जागरण समाजले नवनिर्वाचित सांसदलाई बधाई तथा सम्मान गर्न आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने,“निर्वाचन सम्पन्न भएपछि राजनीतिक स्थायित्व र समृद्धितिर मुलुक अघि बढिसक्यो, अब विकास र समृद्धिको युग सुरु भयो, मुलुकमा विकासका लहरहरु आउनुपर्छ, सबै राजनीतिक दलहरुको ध्यान अब त्यतातर्फ जानुपर्छ।”

उनले वर्तमान सरकार छिट्टै सत्ता हस्तान्तरण गर्न आँतुर रहेको पनि सुनाए । उनले भने,“हामी सरकार छोड्न तयार छौं, राष्ट्रियसभाको निर्वाचन लगत्तै हामी सरकार छोड्छौं, हामी रहरले सरकारमा बसिरहेका छैनौं।”

त्यस्तै उनले उक्त क्षेत्रको विकासको लागि आफूले सक्दो सहयोग गर्नेपनि वचन दिए । उनले भने,“म ऋषि धमलासँग सहकार्य गरेर यहाँको विकासको लागि जस्तोसुकै सहयोग गर्न पनि तयार छु।”

कार्यक्रममा काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गीले पनि विकास र समृद्धिका लागि सबै मिलेर जानुपर्ने धारणा राखिन् ।

रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले समग्र रुपमा मुलुकको विकासको समृद्धिमा सबै राजनीतिक दलहरुवीच एकता, सहमति र सहकार्य हुनुपर्ने धारणा राखे । उनले भने,“विकासको अब अर्को विकल्प छैन, मुलुकमा धेरै ठूला ठूला राजनीतिक क्रान्तिहरु भए, अब आर्थिक क्रान्तिको जग बसाल्नुपर्छ, यहाँ सबै दलहरुवीच सहकार्य अनिवार्य छ, हामी सबै मिलेर लाग्नुपर्छ।”

उक्त वडामा देखिएका सबै खाले समस्याहरुको समाधानको लागि आफूले गम्भिर पहल लिने पनि उनले विश्वास दिलाए । उनले थपे,“ढलको समस्या दिर्घकालिन रुपमा समाधान गर्नुपर्छ, विकास र समृद्धिमा एक भएर जानुपर्छ, भौतिक पूर्वाधार, खानेपानीको समस्या जो छन्, यी सबैलाई तत्काल समाधान गर्नको लागि प्रधानमत्रीदेखि मेयरसम्म कुरा गर्न तयार छु ।”

कार्यक्रममा वडावासीहरुले आफेना समस्याहरु राखेका थिए । उनीहरुका अनुसार अहिले उक्त क्षेत्रमा सोलारको समस्या र बत्तिको समस्या छन् । संस्थाका अध्यक्ष त्रिलोचन घिमिरे र पूर्व अध्यक्ष कृष्णमुरारी जोशी संस्थाले अहिलेसम्म गरेका कामहरुको बारेमा प्रकाश पारेका थिए ।



प्रतिक्रिया दिनुहोस्