Logo

विश्वास गरिएको ब्रिटिस काउन्सिलभित्रै यस्तो चलखेल, २ लाखमा प्रश्नपत्र बेच्दै कमाउँदै



२३ पुस, काठमाण्डौ । काठमाडौंस्थित ब्रिटिस काउन्सिलले लिने अंग्रेजी भाषा परीक्षामा प्रश्नपत्र ‘लिक’ गरेर चलखेल हुने गरेको खुलेको छ । प्रहरीले शुक्रबार यस्तो कार्यमा संलग्न १३ जनालाई पक्राउ गरेको छ ।

ब्रिटिस काउन्सिलकै कर्मचारीको मिलेमतोमा अघिल्लो दिन नै प्रश्नपत्र विद्यार्थीलाई बिक्री हुने गरेको खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले शुक्रबार राति यसमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको हो ।

आइइएलटिएस परीक्षा पास गर्न चाहने विद्यार्थीसँग पैसा लिएर उनीहरुलाई पास गराउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

पक्राउ पर्नेमा विद्यार्थी समेत रहेको काठमाडौं परिसरका प्रवक्ता एसपी रामदत्त जोशीले बताए । विस्तृत अनुसन्धान भइरहेकाले पक्राउ परेका व्यक्तिहरुको विवरण आइतबार मात्र सार्वजनिक गर्ने उनको भनाइ छ ।

स्रोतका अनुसार, प्रहरीले लिक गरिएको प्रश्न र त्यसवापत लेनदेन भएको पैसा समेत बरामद गरेको छ । शनिबारका लागि तय भएको आइइएलटिएस परीक्षाको प्रश्नपत्र शुक्रबार नै गेस्टहाउसबाट प्रहरीले बरामद गरेको थियो ।

आइइएलटिएसको परीक्षामा प्रश्नपत्र लिक गराएर परीक्षा उत्तीर्ण गराउने धन्दामा अन्तर्राष्ट्रिय गिरोह नै संलग्न रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

पक्राउ परेका काउन्सिलका एजेन्ट सुरज तामाङको अन्तर्राष्ट्रिय समूहसँग सम्पर्क देखिएको छ । प्रहरी स्रोतका अनुसार, एक भारतीयमार्फत उनले पहिले नै प्रश्नपत्र पाउँदै आएका थिए । उनले लामो समयदेखि आइइएलटिएस परीक्षा उत्तीर्ण हुन चाहने विद्यार्थीलाई प्रश्नपत्र बिक्री गर्दै आएको प्रहरीले जनाएको छ ।

तामाङ पुतलीसडकस्थित एक कन्सलटेन्सीका सञ्चालक हुन् । प्रश्नपत्र लिक गराउनेमा काउन्सिलका नेपालस्थित कर्मचारीभन्दा अन्य देशमा रहेका काउन्सिलका कर्मचारीहरुको संलग्नता देखिएको स्रोत बताउँछ । विश्वभरि नै ब्रिटिस काउन्सिलको परीक्षा प्रणाली एउटै हुने भएकाले अन्य देशका काम गर्ने व्यक्तिको मिलेमतोमा चलखेल हुने गरेको हो ।

तामाङले भारतीय विद्यार्थीलाई समेत नेपाल ल्याएर प्रश्नपत्र पहिले नै बिक्री गरी आइइएलटिएसको परीक्षा दिन लगाउँदै आएको समेत अनुसन्धानमा खुलेको छ । आइइएलटिएसको प्रश्नपत्र बिक्रीमा दुई लाख रुपैयाँसम्म लेनदेन हुने गरेको खुलेको छ ।

पक्राउ परेका एक एजेन्टले ८ जना विद्यार्थीसँग पैसा उठाएर मुख्य एजेन्टलाई दिँदै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । एकै जना विद्यार्थीसँग दुई लाख रुपैयाँसम्म लिइएको थियो । प्रहरीले पैसा बुझाएर प्रश्न किन्ने विद्यार्थीलाई समेत पक्राउ गरेको छ । ८ जना विद्यार्थीसँग लिइएको ४ लाख १५ हजार रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ ।

प्रश्नपत्र भाइबरमार्फत दिने गरिएको प्रहरीले जनाएको छ । शनिबारका लागि तय भएको आइइएलटिएस परीक्षाको प्रश्नपत्र प्रहरीले शुक्रबार नै बरामद गरेको थियो । अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीका अनुसार शुक्रबार भेटिएका प्रश्नपत्र र शनिबार परीक्षामा सोधिएका प्रश्नहरु एउटै छन् ।

गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी परिसरले शुक्रबार राति अपरेसन चलाई प्रश्न बिक्री गर्ने र खरिद गर्नेहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेकामाथि विस्तृत अनुसन्धान पूरा भइनसकेकाले नामहरु सार्वजनिक नगरिएको काठमाडौं परिसरका प्रहरी उपरीक्षक रामदत्त जोशीले बताए ।



प्रतिक्रिया दिनुहोस्