Logo

एकताका लागि सरकार र पार्टीको नेतृत्व बाँडिने कुरामा सुरुदेखि नै अन्डरस्ट्याण्डिङ थियो : नेता गुरुङ



२३ पुस, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले एमाले र माओवादीबिच पार्टी एकताका लागि प्रयास भइरहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता गुरुङले जतिसक्दो चाँडो पार्टी एकता गर्ने पक्षमा दुर्व दल रहे पनि कहिलेसम्म एकता हुन्छ भनेर भन्न सकिने अवस्था नरहेको बताए ।

नेता गुरुङले नयाँ सरकार गठन गर्नुअघि नै पार्टी एकता गर्ने गरी गृहकार्य भइरहेको बताएका छन् । “सम्भवता पार्टी एकता पछाडि नै सरकार गठन हुन्छ होला ।” उनले भने । “ नयाँ सरकार गठनका लागि कानुनी र संवैधानिक प्रक्रिया पूरा हुन केही समय लाग्ने भएकाले पहिला पार्टी एकता गर्न लागेका हौँ । पार्टी एकता हुने कुरा त दुई दलबिचको सहमतिमा हुन्छ ।”

पार्टी एकताका लागि मापदण्ड के हुन सक्छ भन्ने धमलाको प्रश्नमा गुरुङले मुख्य कुरा आपसी समझदारी नै भएको बताएका छन् । “पार्टी एकता भनेको दुवै दलको सम्मानजनक ढंगले नै तयार हुने कुरा हो । वैचारिक र राजनीतिक मतभेद धेरै छैन ।” गुरुङले भने । “भएका मतभेदहरु अन्तरपार्टी छलफलको रुपमा कायम राख्दै अहिले सहमतिका विषयहरुलाई लिएर अगाडि बढ्नका लागि साझा दस्ताबेज तयार गर्ने कुरामा छलफल भइरहेको छ ।”

वैचारिक र राजनीतिक विषयमा समस्या नभए पनि सांगठनिक संरचनामा दुवै दलको सम्मानजनक ढंगले व्यवस्थापन गर्नुपर्ने उनको भनाई छ । “नेतृत्वको व्यवस्थापन गर्ने कुरालाई कसरी व्यालेन्स गर्ने ? एकताको भाव कसरी पैदा गर्ने भन्ने विषयहरुमा नेताहरुले मिलाउनुहुन्छ भन्ने लाग्छ ।” गुरुङले भने ।

एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड र एकता संयोजन समिति आ–आफ्नै तरिकाले पार्टी एकताका लागि प्रयासरत रहेको उनले जानकारी दिए ।
दुई दलका दुई अध्यक्षमध्ये एउटाले सरकारको नेतृत्व गर्ने अर्कोले पार्टीको नेतृत्व गर्ने तरिकाले नै टुङ्गिन्छ भन्ने कुरामा आफूहरु आशावादी भएको नेता गुरुङले बताए ।

प्रधानमन्त्री केपी ओली पार्टी अध्यक्ष प्रचण्ड हुने गरी पार्टी एकता गर्ने हो भन्ने धमलाको प्रश्नमा गुरुङले भने, “अहिले नै हुन्छ भनेर त भन्न नसकिएला । आपसी सहमतिमा तय गर्ने कुरा हो ।”

पार्टी अध्यक्ष प्रचण्डलाई बनाउने कुरामा एमाले तयार छ त भन्ने प्रश्नमा उनले पार्टी एकताको प्रक्रिया सुरु भएदेखि नै एउटाले सरकारको नेतृत्व र अर्कोले पार्टीको नेतृत्व गर्ने स्थिती आउन सक्छ भनेर नै अन्डरस्ट्याण्डिङ हुँदै आएको बताए ।

सैद्धान्तिक रुपमा भएका माओवाद र जनताको बहुदलीय जनवाद बहस र विवादका विषय बनेको भन्दै उनले समस्या समाधानको लागि प्रयास गरिने बताए ।



प्रतिक्रिया दिनुहोस्