Logo

ओली र प्रचण्डवीच वान टु वान भेटवार्ता सुरु, आजै ठोस सहमति गर्ने



काठमाडौं, २३ पुस । वाम गठबन्धनका शीर्ष नेताद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डवीच वान-टु-वान वार्ता सुरु भएको छ ।

भक्तपुरस्थित् एमाले अध्यक्ष ओली निवास बालकोटमा दुई नेताहरुवीचको भेटवार्ता सुरु भएको ओली निकट उच्च स्रोतले जानकारी दिएको छ । पछिल्लो एक हप्तादेखि दुई नेताहरुवीच भेटवार्ता हुने हल्ला चलिरहेको थियो । तर, माओवादी अध्यक्ष प्रचण्ड विशेष कामले चितवन जानपुरेको र एमाले अध्यक्ष ओलीको अस्वस्थताका कारण भेट हुन सकेको थिएन ।

ओलीलाई भेट्न भनेर नै प्रचण्ड आज स्थलमार्ग हुँदै चितवनबाट काठमाडौं आएका हुन् । मौसम प्रतिकुल हुँदा चितवनबाट आज कुनैपनि उडान भएको छैन । आजको भेटवार्तामा उनीहरुवीच पार्टी एकताको खाका तयार पार्ने र एकता संयोजन समितिको बैठक भोलि नै डाक्ने विषयमा सहमति गरिने बुझिएको छ।

चुनावी नतिजाले नयाँ सरकार गठनमा ढिलाइ भएपछि नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरू पार्टी एकताको मोडालिटी निर्माणमा लागेका छन् । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डको निर्देशनअनुसार दुवै नेतानिकट रहेका केही युवा नेताले पार्टी एकताको मोडालिटी अन्तिम चरणमा पु¥याएका हुन् ।



प्रतिक्रिया दिनुहोस्