Logo

सरकार निर्माण अघि नै पार्टी एकता गरिने हरिबोल गजुरेलको दाबी



२४ पुस, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले एमाले र माओवादीबिच पार्टी एकता भएरै छाड्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता गजुरेलले राष्ट्रको आवश्यकता र वैचारिक मिलनले एकता सहज हुने बताए ।

दुई पार्टीबिच विगतको जस्तो अन्तरविरोध अहिले नभएकाले एकतामा कुनै पनि कुरा बाधक नहुने गजुरेलको भनाई छ । नयाँ सन्दर्भमा पुँजीवादी क्रान्तिका मूलभूत कुराहरु पूरा भएको भन्दै उनले केही अवशेष भने बाँकी रहेको अवस्थामा दलाल पुँजीवादको पनि अन्त्य गर्दै जनक्रान्तीलाई पूर्णता दिने कुरामा र समाजवादी क्रान्तीका लागि दुवै दलहरु सहमत भएको गजुरेलको भनाई छ ।

विगतमा जनयुद्धको पक्षधर र विपक्षी भए पनि अहिले समाजवादको लक्ष्य र उद्देश्यमा दुवै दल एकमत भएको दाबी छ ।
“मूलभूत कुराहरु मिलेपछि अरु कुराहरु त बहस र छलफलबाट टुङ्गिन्छ ।” गजुरेलले भने ।

अहिलेको अवस्थामा एमालेले माओवाद स्विकार नगरेको र माओवादीले बहुदलीय जनवाद स्विकार गरि नसकेको उनले बताए । दुवै दलको सिद्धान्तलाई बहसमा लगेर सकारात्मक पक्षलाई अङ्गिकार गर्न सकिने गजुरेलको भनाई छ ।

माओवाद र बहुदलीय जनवादको पृष्ठभूमिदेखि परिवेशसम्म पुगेर छलफल गरिने उनको भनाई छ ।
एउटाले अर्को दलको सिद्धान्त अंगाल्ने नभै दुवै सिद्धान्तका सकारात्मक पक्ष मिलाएर नयाँ दल र नयाँ सिद्धान्त अंगिकार गरिने गजुरेलको भनाई थियो ।
पार्टी एकताका लागि एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबिच गम्भीर रुपमा छलफल भइरहेको उनले बताए ।

सरकार निर्माण अघि नै पार्टी एकता गर्ने प्रयास भइरहेको उनले बताए । पार्टी अध्यक्ष को बन्ने भन्ने प्रश्नमा गजुरेलले सबै कुरा मिली नसकेको अवस्थामा पार्टीको नेतृत्वका बारे केही भन्न नसकिने स्पष्ट पारे ।

महाधिवेशन नहुँदासम्मका लागि सहमतिको बाटो के हुन सक्छ भनेर छलफल भइरहेको उनको भनाई थियो ।
यद्यपी सहमति हुने क्रममा ओली र प्रचण्डमध्ये एकजना प्रधानमन्त्री र एकजना पार्टी अध्यक्ष हुन सक्ने सम्भावना रहेको उनको भनाई छ ।

जनताको घेराबन्दीमा परिसकेकाले अब पार्टी एकता गर्नुको विकल्प नभएको उनको भनाई छ ।
सरकारले आफूहरुसँग सहमति बिना प्रदेश प्रमुख नियुक्ति गर्न लागेको भन्दै उनले नयाँ सरकारले त्यसलाई उल्ट्याउने बताए ।

यद्यपी राम्रा निर्णय गरेको खण्डमा उल्ट्याउने काम नगरिने उनको भनाई छ । सहमतिका आधारमा प्रदेश प्रमुख नियुक्ति गर्नुपर्नेमा गजुरेलले बताए ।



प्रतिक्रिया दिनुहोस्