Logo

प्रदेश सासंदलाई काठमाण्डौमा होइन, सम्बन्धित प्रदेशमै सपथ खुवाउनुपर्छ : राजेन्द्र महतो



प्रदेश सभाको बैठक बस्नका लागि सरकारले अस्थायी ठाउँ तोक्ने तयारी गरे पनि अहिले ठाउँ नतोकिने भएको छ । सबैजसो प्रदेशमा राजधानीको ठाउँलाई लिएर जनता सडकमा आएपछि सरकार पछि हटेको कतिपयको तर्क छ । तर सरकारका मन्त्रीहरुले भने प्रदेशको अस्थायी राजधानी सरकारले तोक्न पाउने व्यवस्था संविधानमा नभएको दाबी गरेका छन् । अन्य दलहरुले भने सम्बन्धित प्रदेशमा नै सपथ खुवाउनुपर्ने माग गरिरहेका छन् । यिनै विषयमा केन्द्रित रहेर ऋषि धमलाले राजपाका नेता राजेन्द्र महतोसँग कुराकानी गरेका छन् । कुराकानीका क्रममा पछिल्लो दिनमा तराई मधेशमा बढेको शितलहर र मधेशवादी दलको भूमिकाबारे पनि प्रश्न उठाईएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
तराई–मधेशमा शीतलहरले जनजीवन अस्तव्यस्त छ । तपाई के गर्दै हुनुहुन्छ ?
शीतलहरले मधेश धेरै प्रभावित बनेको छ । दर्जनौ मानिसले ज्यान गुमाउनुपर्ने अवस्था आउनु दुर्भाग्य हो । हामीले सरकारलाई पटकपटक ध्यानाकर्षण गराएका छौँ । तर सरकारले सक्रियता देखाएको छैन ।

तपाईहरुले पनि दुःख पाएका जनतालाई साथ दिनुपर्ने होइन ? किन चुनाव जितेपछि काठमाण्डौमा बसिरहनुभएको छ ?
नेता काठमाण्डौमा मात्रै होइन, गाउँमा पनि छन् । स्थानीय तह र प्रदेश सभामा जितेका नेताहरु गाउँमै छन् । केही प्रमुख नेताहरु पार्टीको महत्वपूर्ण कामले गर्दा काठमाण्डौमा बसेका हुन् ।

न्यानो कपडा र दाउरा लिएर गाउँ पठाउनुभएको छ त ?
स्थानीय तह र प्रदेश सभामा जितेका नेताहरु गाउँमै खटिएका छन् । राहत संकलनमा जुटेका छन् । लुगाफाटासमेत वितरण गर्न आग्रह गरेका छौँ । हामीले आफ्नोतर्फबाट गर्न सक्ने जति गरिरहेका छौँ ।

स्थानीय तह र प्रदेशका जनप्रतिनिधीहरु जनताको समस्या समाधान गर्न गएनन् भन्ने जनगुनासो आइरहेको छ । तपाईहरुले के गर्नुभयो त खै ?
स्थानीयस्तरबाट गाउँपालिका र नगरपालिकाहरु जुटिरहेका छन् । लुगाफाटा, कम्बल, दाउरा लगायतका आवश्यक सामग्री जुटाउन सक्रिय छन् । टोलटोलमा साथीहरुले काम गरिरहनुभएको छ । तर सरकारले केही पनि गरेन ।

तपाईहरुले सरकारलाई दबाब दिनुपर्दैन ?
हामीले पटक पटक भनेका छौँ । आज पनि प्रधानमन्त्रीलाई भेटेर भन्दैछौँ । तर सरकारले विभेदको नीति अझै हटाएको छैन ।

मधेशी जनताले तपाईहरुलाई चुनाव जितेर पठाएका छन्, अब तपाईहरुले समस्या समाधानका सुत्रहरु दिनुपर्दैन ?
समस्या समाधानका लागि नै जनताले जिताएका हुन् । तर सरकार गम्भीर नहुँदा समस्या बढेको हो । अब प्रदेश सासंदलाई काठमाण्डौमा सपथ खुवाउने कुरा भइरहेको छ । सम्बन्धित प्रदेशको कुनै ठाउँमा सपथ खुवाउने कार्यक्रम गराउनुपथ्र्यो ।

त्यसका लागि त दलीय सहमति भएन नि त ?
राजधानी त विधानसभा बसेपछि तोक्ने हो, ठिकै छ । तर सरकारको अधिकार थियो ।

तर संविधानअनुसार त प्रदेशको राजधानी प्रदेशसभाको दुई तिहाई बहुमतले तोक्ने हो नि ?
तपाईलाई जानकारी पनि छैन ।

हैन, मलाई सबै थाहा छ । मैले संविधान पल्टाएर पढेको छु ।
सुन्नु न म भन्छु । अन्तिम अधिकार त प्रदेशसभालाई छ । तर सरकारले प्रथम बैठक बसाउने काम त सरकारको हो नि । सम्बन्धित प्रदेशकै कुनै ठाउँमा तोक्न त सकिन्थ्यो नि ।

अस्थायी राजधानी तोक्दा पनि विवाद त देखियो नि ?
बैठक बसाउने काम सरकारको होइन ? काठमाण्डौ भनेको त केन्द्रिकृत शासनको प्रतिक हो । सातै प्रदेशमा अस्थायी रुपमा सपथ खाने ठाउँ तोक्नुपथ्र्यो । जहाँ उचित हुन्छ, त्यहाँ सपथ खुवाउने निर्णय गर्नुपर्छ । अहिलेको सरकार त संघीयताको विरोधी हो । यो सबै संघीयता असफल बनाउन जानीजानी भइरहेको छ ।

ल तपाई भन्नुस्, प्रदेश नम्बर २ को सपथ धनुषामा खुवाउने निर्णय गर्दा विवाद हुन्छ कि हुँदैन ?
धनुषा भनेको २ नम्बर प्रदेशको केन्द्रविन्दु हो । केही विवाद हुँदैन ।

तर विरगंजबासीले त मानेका छैनन् नि ?
यो सब कांग्रेसको षडयन्त्र हो । संघीयता विरुद्धको षडयन्त्र हो ।

तपाईले पनि वीरगंजमा गएर जनतालाई राजधानी बनाउने आश्वासन दिनुभएको थियो नि ?
वीरगंज आर्थिक राजधानी त हो नि । मैले भनेकै हो । तर राजनीतिक राजधानी त जनकपुर नै हो । तर त्यो पनि विधानसभाले बनाउने हो । विधानसभाले जहाँ बनाए पनि मलाई स्विकार्य छ । वीरगंज र जनकपुरबिचमा झगडा गराउने खसवादी मानसिकता हो । त्यसैले संघीयताविरुद्ध षडयन्त्र गर्नेहरुको विरुद्धमा हामी संघर्ष गछौँ ।

प्रदेश नम्बर २ का प्रदेश सासंदले काठमाण्डौमा आएर सपथ खाने कि नखाने ?
हाम्रो त सबै प्रदेशको बैठक सम्बन्धित प्रदेशमै गराउनुपर्छ भन्ने आग्रह हो । तपाई गलत विकृत मानसिकताबाट यो कुराहरु गरिरहनुभएको छ ।

गलत राजेन्द्रजि, मैले सबै प्रदेशमा राजधानीको विषयलाई लिएर विवाद बढेको कुरा गरेको हुँ । जनताहरु त सडकमा छन् नि राजेन्द्रजी ?
ठिक छ, राजधानी तोक्ने काम त प्रदेशसभाले गर्छ । तर बैठक बसाउने काम पनि सम्बन्धित प्रदेशमै गराउनुपर्छ भन्ने मेरो कुरा हो । प्रधानमन्त्रीलाई आग्रह पनि गरेका छौँ । सम्बन्धित प्रदेशमै तोक्छु भन्नुभएको थियो । तर हिजो अस्तीबाट षडयन्त्र सुरु भयो ।



प्रतिक्रिया दिनुहोस्