काठमाडौं, २४ पुस । दुई पार्टी एकतापछिको सांगठनिक संरचनाका विषयमा छलफल गर्न एमाले र माओवादीले सोमवार आन्तरिक बैठक डाकेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार साँझ ओली निवास बालकोटमा भएको छलफलपछि दुवै पार्टी संगठन समायोजनको विधि र कार्यदल निर्माण गर्न आन्तरिक छलफपलमा जुटेका हुन् ।
ओली र प्रचण्डबीच आइतबार भएको भेटमा पार्टी एकताको संगठनात्मक ढाँचा तथा वैचारिक राजनीतिक दिशा तय गर्न दुवै पार्टीका नेता सम्मिलित अलग अलग कार्यदल बनाउने समझदारी भएको थियो । सोही समझदारीलाई औपचारिकता दिन दुवै पार्टीको बैठक बस्न लागेको हो । एमालेले सोमबार दिउसो २ वजे स्थायी समिति बैठक डाकेको छ भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि पार्टीका नेताहरूसँग आन्तरिक छलफलमा छन् ।
दिउसो दुई बजे अध्यक्ष ओलीको निवास बालकोटमा बस्ने बैठकले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको लागि संगठनात्मक ढाँचा तथा वैचारिक राजनीतिक विषयमा छलफल हुने एमाले नेताहरुले वताए ।