काठमाडौं, २४ पुस । आज बस्ने भनिएको मन्त्रिपरिषद बैठक स्थगित् भएको छ । आजको मन्त्रिपरिषद बैठकले सातवटै प्रदेश प्रमुखको नियुक्ति गर्ने भनिएपनि बैठक बस्ने अनिश्चिततासँगै प्रमुखको नियूक्ति पनि अन्यौलमा परेको हो ।
वाणिज्यमन्त्री मीन विश्वकर्माले दिएको जानकारी अनुसार मन्त्रिपषिद बैठक आज नबस्ने निश्चित भएको छ । पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले भने,‘आजमात्रै होईन, अझै एक दुई दिन बैठक बोलाइएको छैन, आज त बस्दैन् ।’
हिजोसम्म रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा मन्त्रीहरुले आज सोमबार क्याविनेट बस्ने र प्रदेश प्रमुखहरु नियुक्त गर्ने बताउँदै आएका थिए । हिजामात्रै कानुनमन्त्री यज्ञबहादुर थापाले भनेका थिए,‘हामी भोलि नै क्याविनेट राखेर निर्णय गर्छौं, प्रदेश प्रमुख तोक्छौं।’
सरकारले प्रदेश प्रमुखको नियुक्ति र प्रदेशको अस्थायी मुकाम तोक्न यसिअघि दलहरुसँग गरेको सर्वदलीय बैठकमा सहमति नजुटेपछि सरकार यस विषयमा निर्णय गर्न हच्किएको छ ।
प्रदेश राजधानी माग्दै भएको आन्दोलनपछि तत्काल राजधानी नतोक्ने मनस्थिति बनाएको सरकारले प्रमुख नियुक्ति गर्ने तयारी गरेको थियो । सरकारको यस्तो तयारीप्रति एमालेलगायतका बाम गठबन्धनले प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम एकैपटक तोक्नुपर्ने धारणा सार्वजनक गरेको छ ।
अब बन्ने वाम गठबन्धनको सरकारले अहिलेको सरकारले गरेका सबै निर्णयहरु उल्टाईदिने चेतावनी दिएपछि कतिपय साझा व्यक्तिहरु प्रदेश प्रमुख बन्न समेत हच्चिएका छन् । उनीहरुलाई नयाँ सरकारले हटाईदिने हो कि भन्ने डर र चिन्ता देखिएको छ ।