Logo

एमाले स्थायी समितिको बैठक सम्पन्न : माओवादीसँग एकता गरेरै छोड्ने



काठमाडौं, २४ पुस । नेकपा एमालेको स्थायी कमिटि बैठक सम्पन्न भएको छ । पार्टी एकता, सरकार गठन र अन्य समसामयिक बिषयमा छलफल गर्न स्थायी समितिको बैठक अध्यक्ष केपी शर्मा ओलीको निवासमा बालकोटमा बसेको थियो ।

एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार साँझ भएको ‘वान–टु–वान’ वार्तापछि दुबै पार्टीको आज आन्तरिक बैठक बसेको हो ।
दुई नेताबीच पार्टी एकतालाई अघि बढाउन पार्टी एकताको संगठनात्मक ढाँचा तथा बैचारिक राजनीतिक दिशा तय गर्न दुवै पार्टीका नेता सम्मिलित अलग अलग कार्यदल बनाउने समझदारी भएको थियो ।

उक्त समझदारीलाई औपचारिकता दिन दुबै पार्टीले आज आन्तरिक बैठक आह्वान गरेर यस्तो निर्णय गरेका छन् । आजको बैठकमा बैठकमा पार्टी एकताका लागि भइरहेका प्रयासका बारेमा ओलीले ‘ब्रिफिङ’ हुने र कार्यदल गठनबारे सहमति भएको थियो ।

बैठकमा सहभागी एमाले केशव बडालका अनुसार अध्यक्ष ओलीले आज माओवादीसँगको पार्टी एकता अब कसैले पनि रोक्न नसक्नेबारे स्पष्ट पारेका थिए । पत्रकार ऋषि धमलासँग कुरा गर्दै बडालले बैठकमा ओलीले भनेको कुरा यसरी सुनाए, “हिजो प्रचण्डजीसँग भएको वान टु वान वार्ता राम्रो भयो, अब एकता हुनेभयो, एकता कसैले भाँड्न सक्दैन् । म हिजोदेखि सन्तुष्ट भएँ ।”

त्यस्तै ओलीले दुवै पार्टीलाई एकतावद्ध बनाउनको लागि गाउँदेखि नै एकतावद्ध गर्नुपर्ने निश्कर्षमा आफूहरु पुगेको भन्दै दुवै पार्टीका संगठनलाई कसरी चुस्त, दुरुस्त बनाउने भन्नेबारे कार्यदल बनाउने पनि निर्णय गरेको छ । त्यस्तै पर्टीको राजनीतिक र वैचारिक नीति बनाउनको लागि पनि छुट्टै कार्यदल बनाउने आजको बैठकमा निर्णय भएको छ ।

उता माओादीले पनि कार्यदल बनाउने निर्णय गरिसकेको छ । दुवै पार्टीबाट पाँच÷पाँच जना बस्ने र दुवै पार्टीका शीर्षस्थ नेताहरु रहने समझदारी बनेको छ । कार्यदल बनाउने निर्णयसँगै भोलि मंगलबार एकता संयोजन समितिको बैठक बस्ने पर्सी बसेर कुराकानी गर्ने समझदारी बनेको छ ।



प्रतिक्रिया दिनुहोस्