Logo

अस्थायी राजधानी र प्रदेश प्रमुख तत्काल तोक्न मधेशवादी दलको माग



२५ पुस, काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता जितेन्द्र सोनलले मधेशी जनतालाई सरकारले उपेक्षा गरेको अरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता सोनलले शीतलहरका कारण जनजीवन अस्तव्यस्त हुँदासमेत सरकारले चासो नदेखाएको बताएका हुन् ।
“मुलुकमा सरकार नै छैन जस्तो आभास भएको छ ।” सोनलले भने ।

आफूहरुले सकेजति दाउरा र कपडाको व्यवस्था गर्ने प्रयास गरिरहेको भन्दै सोनलले व्यक्तिले भन्दा पनि सरकारले दायित्व पूरा गर्नुपर्नेमा जोड दिए ।
“राजनीति व्यक्ति र दलले के गर्न सक्छ ? गर्ने त सरकारले हो ।” सोनलले भने ।

फरक प्रसङ्गमा नेता सोनलले ठूला दलहरु संघीयतालाई धरापमा पार्ने षडयन्त्रमा लागि परेको आरोप लगाए । प्रदेशको अस्थायी राजधानी नतोकेर सरकारले संघीयता विरोधी काम गरेको उनको आरोप थियो ।

सम्बन्धित प्रदेशमा नै सपथ ग्रहण गर्ने व्यवस्था गर्नुपर्ने माग उनले गरेका छन् । आफूहरु काठमाण्डौमा आएर सपथ खान नसक्ने भन्दै सोनलले भने, “काठमाण्डौमा आएर सपथ खानका लागि प्रदेशसभाको चुनाव जितेको होइन ।”

प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तत्काल तोक्न सोनलले माग गरेका छन् । अस्थायी राजधानीबाट नै बाँकी काम सुरु हुने भन्दै उनले काठमाण्डौलाई अस्थायी राजधानी मान्न नसकिने स्पष्ट पारे ।

यसअघि सोमबार राजपाका शीर्ष नेता राजेन्द्र महतोले पनि प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तत्काल तोक्न सरकारसँग माग गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्