Logo

पिएसजी फ्रेन्च लिग कप फुटबलको सेमिफाइनलमा



पेरिस, पुस २७ : पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार राति भएको क्वाटरफाइनलमा १० खेलाडीमा सीमित एमिएन्सलाई २–० ले हराउँदै पिएसजीले अन्तिम चारमा स्थान पक्का गरेको हो। पिएसजीको जितमा नेइमार र एड्रिएन राबिओट्ले गोल गरे ।

एमिएन्सका गोलरक्षक रेगिस गुर्ट्नगरले ३४ औँ मिनेटमा पिएसजीका एलियन एमबाप्पेलाई फउल गरेपछि रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए। त्यसपछि एमिएन्स १० खेलाडीमा सीमित भयो ।

यद्यपी पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको पिएसजीले ५३औं मिनेटमा गोल गर्दै खेलमा अग्रता लियो।  थोमस मोन्कोन्डुइट्ले नेइमारलाई फउल गरेपछि पिएसजीले पेनाल्टी पायो। त्यसमा नेइमारले गोल गर्दै पिएसजीलाई अग्रता दिलाए। यहि सिजन विश्व कीर्तिमानी मूल्यमा बार्सिलोनाबाट पिएसजी आएका नेइमारले पिएसजीबाट सबै प्रतियोगितामा गरेर २२ खेलमा २० गोल गरिसकेका छन् ।

यस्तै पिएसजीका लागि दोस्रो गोल ७८ औँ मिनेटमा राबिओट्ले हेड मार्फत गरे। फ्रेन्च लिग कपमा उनको यो खेल डेब्यु थियो। नेइमारले पिएसजीबाट लिग वान, च्याम्पियन्स लिग, फ्रेन्च कप र फ्रेन्च लिग कप सबैको डेब्यु खेलमा गोल गरेका छन्। पिएसजीले लगातार चारपटक फ्रेन्च लिग कपको उपाधि जितिसकेको छ।

यो खेलमा एडिसन काभानी मैदान बाहिर थिए। पिएसजीले अब फाइनल प्रवेशका लागि रेनसँग प्रतिस्पर्धा गर्नेछ ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्