Logo

शहीदनगर नगरपालिकाको बजेट पारित



जनकपुरधाम, २९ पुस : शहीदनगर नगरपालिकाले आव ०७४÷०७५ का लागि रु ४३ करोड ८२ लाख ११ हजारको बजेट पारित गरेको छ ।

नगरपलिकाको प्रथम नगरसभाबाट पूर्वाधार तथा संरचना विकास, जनसंख्या तथा सामाजिक विकास, महिला, बालबालिका तथा अन्य लक्षित वर्ग, वातावरण संरक्षण, खानेपानी तथा सरसफाइ, शिक्षा तथा स्वास्थ्य, कृषि तथा सहकारी विकासलगायतका क्षेत्रमा सो रकम विनियोजन गरेको हो ।

पूर्वाधार तथा संरचना विकासअन्तर्गत नगरपालिकालाई स्मार्ट सिटीका रूपमा स्थापित गर्न गुरुयोजनाको निर्माण, सडक ग्राभेल तथा ढलान, ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक महत्वका पोखरीको संरक्षण, पुरानो बजारलाई सुधार गरी सडक चौडा, वडाका खानेपानी, बिजुली र फोहर व्यवस्थापन, नगरपालिका कार्यालय भवन निर्माणको योजना सार्वजनिक गरिएको छ ।

त्यस्तै जनसंख्या तथा सामाजिक विकासमा जनस्तरबाट सञ्चालित सामुदायिक क्याम्पस र विद्यालयलाई सहयोग, नगरका खेलाडीलाई सम्मान र पुरस्कार, सीमान्तकृत महिलाको उत्थान र सशक्तीकरण, आगलागी, बाढी, भूकम्प महामारीजस्ता प्रकोपमा क्षति न्यूनीकरण गर्न उद्धार र राहतका लागि प्रकोप व्यवस्थापन गर्ने योजना तर्जुमा गरिएको छ ।

विपन्न तथा पिछडिएका वर्गका महिलालाई लक्षित गरी महिला सशक्तीकरण, बालमैत्री संस्थागत विकास, बाल सञ्जाल एवं बालबालिका क्षमता विकास, अपांगमैत्री संरचना, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षा गर्ने योजना अगाडि सारेको छ ।

खाली पर्ती जग्गामा उपभोक्ता समूह, विद्यालय परिवार र नागरिक समाजमार्फत वृक्षरोपण, नगरपालिकामा खुला दिसामुक्त अभियान सञ्चालन, खानेपानीको आपूर्तिका लागि ओभरहेड ट्यांकी निर्माण योजना पनि तर्जुमा गरिएको छ ।

साक्षरता अभियान, ग्रामीण क्षेत्रमा जनस्वास्थ्य कार्यक्रम सञ्चालन, नगर क्षेत्रमा सुविधा सम्पन्न अस्पताल निर्माण, विपन्न बालबालिकालाई विद्यालयमा अध्ययनका लागि प्रेरित गर्ने, नगरस्तरीय पुस्तकालय सञ्चालन र नगरस्तरीय आयुर्वेद अस्पताल सञ्चालन गर्ने विकास कार्यक्रमलाई समेटिएको छ ।

सिँचाइको व्यवस्था, कृषि तथा पशुपालन कार्यक्रम सञ्चालन गाउँको उत्पादनलाई बजारीकरण, आधुनिक प्रविधियुक्त कृषि कार्यक्रम सञ्चालन, कृषिमा वैज्ञानिकरण, जैविक उत्पादन कार्यक्रम सञ्चालनका लागि समेत बजेट विनियोजन गरिएको छ ।

सो अवसरमा नगरप्रमुख उदयकुमार बरबरिया यादवले कमजोर व्यवस्थापकीय क्षमता, वित्तीय र प्राविधिक क्षमताका कमी, कानूनी, नीतिगत र प्रक्रियागत जटिलता, जीर्ण संरचना र बजार व्यवस्थापनका माध्यमबाट उत्पादनको आन्तरिक था बाह्य सुनिश्चित गर्नु प्रमुख चुनौती रहेको बताउनुभयो ।(रासस)



प्रतिक्रिया दिनुहोस्