Logo

तरलता कम गर्न सरकार प्रयासरत छ : राज्यमन्त्री राणा



पर्सा, २९ पुस : अर्थ राज्यमन्त्री उदयशम्शेर राणाले हाल बजारमा देखिएको आर्थिक तरलतालाई सम्बोधन गर्न नेपाल सरकार प्रयासरत रहेको जानकारी दिनुभयो । उहाँले बजारमा देखिएको तरलतालाई सम्बोधन गर्न खर्च नभएको बजेटलाई केही महिनाका लागि बजारमा परिचालन गर्न सोच बनाइरहेको बताउनुभयो ।

वीरगञ्ज उद्योग वाणिज्य संघको आज वीरगञ्जमा आयोजित ४२औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै राज्यमन्त्री राणाले भूकम्पपीडितलगायतका खर्च हुन नसकेको बजेटलाई केही महिनाका लागि बजारमा परिचालन गरी हाल देखिएको तरलतालाई सम्बोधन गर्ने सोचमा सरकार रहेको जानकारी दिनुभयो ।

सभालाई सम्बोधन गर्दै अर्थ राज्य मन्त्री सिमेन्ट उद्योगमा देखिएको समस्या तत्काल सम्बोधन नभए भूकम्पबाट पुगेको क्षतिलाई पुनःनिर्माणमा समस्या आउने धारणा व्यक्त गर्नुभयो ।

क्लिङ्कर आयातमा देखिएको समस्याले गर्दा सिमेन्टको मूल्यमा आएको वृद्धिले भूकम्पबाट भत्किएका भवनलाई निर्माण गर्न जुटेका सर्वसाधारणलाई नोक्सान पु¥याउने मन्त्री राणाले बताउनुभयो । रक्सौल रेल यार्डमा क्लिङ्कर अनलोड गर्न भारत सरकारले लगाएको रोकका विषयमा तत्कालीन तथा दीर्घकालीन निकासका लागि अर्थ मन्त्रालयले पहल गर्ने मन्त्री राणाले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले राजनीतिक संघर्षको पाटो सम्पन्न भएकाले अब मुलुकलाई आर्थिक समृद्धतर्फ डो¥याउने सबै राजनीतिक दल एकजुट हुन आवश्यक रहेको विचार व्यक्त गर्नुभयो । सात दशकसम्म चलेको राजनीतिक संघर्षले संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान निर्माणपछि एउटा टुङ्गोमा पुगेकाले अब आर्थिक उन्नति र समृद्धिको बाटोमा मुलुकलाई लैजानुको विकल्प नरहेको मन्त्री राणाको भनाइ रहेको थियो ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विधायक शंकार चौधरी, राजेश्वर साह तेली, वीरगञ्ज महानगरपालिकाका प्रमुख विजय सरावगी, उद्योग वाणिज्य संघ मध्यमाञ्चलका अध्यक्ष अजयकुमार सुमार्गी, वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक बैध, अनिल केडिया, गणेश लाठ, अशोक टेमानीलगायतले नेपाल सरकारलाई ७० प्रतिशत राजश्व वीरगञ्जबाट प्राप्त भएपछि यस क्षेत्रको विकासप्रति सरकार उदाशीन रहेको गुनासो गरेका थिए ।

व्यापारीले बारा पर्सा क्षेत्रको पूर्वधार विकासमा सरकारले देखाएको विभेदलाई अन्त्य नगरीय मुलुको विकास हुन नसकिने दाबी गरेका थिए ।

कार्यक्रममा भारत तथा तेस्रो मुलुकतर्फ निकासी गर्ने उद्योगका प्रतिनिधि एसिसी परीक्षामा जिल्ला प्रथम गर्ने छात्रछात्रालगायतलाई वीरगञ्ज उद्योग वाणिज्य संघले सम्मानित गरेको थियो । (रासस) 



प्रतिक्रिया दिनुहोस्