३० पुस, काठमाण्डौ । भूकम्पले सुक्खा पहिरो भई तहसनहस भएको सिन्धुपाल्चोकको बाह्रबिसेदेखि तातोपानीसम्मको २६ किलोमिटर सडकखण्ड पुनःनिर्माण गरी यातायात सञ्चालन भए पनि नाका भने अझै खुलेको छैन ।
चीन सरकारले नाका खुलाउन खासै अभिरुची नदेखाएको कारण करिब ३२ महिनादेखि बन्द रहेको तातोपानी नाका अझै खुल्न नसकेको हो ।
सीमा पुलसम्मको २६ किलोमिटर सडकको ट्रयाक खोलिएको थियो । तर अघिल्लो वर्षको असार २१ गते भोटेकोसी नदीमा आएको भिषण बाढीले त्यहाँको मानव बस्ती र सडकको विभिन्न भाग कटान गर्नुका साथै ठाउँ ठाउँमा गएका ठूला पहिरोले आवागमन बन्द भएको थियो । बन्द सडकलाई पुनःनिर्माण गरी लिपिङसम्म यातायात सञ्चालन भएको छ ।
भूकम्पबाट विस्थापित भई अन्यत्र गएका परिवार पनि क्रमिक रुपमा आफ्नै थातथलोमा फर्किएका छन् ।
पछिल्लो समय चिनले सुरक्षाका कारण देखाउँदै नाका खोल्न आनाकानी गरिरहेको छ । तर भूकम्पअघि संचालनमा रहेको नाका भूकम्पपछि बन्द भएको मौका छोपी चिनले दीर्घकालिन रुपमा नै नखुलाउने रणनीति लिएको कतिपयले आशंका गरेका छन् ।
चिनविरोधी गतिविधि नहोस भन्ने चिनको चाहना पुरानै हो, तर सुरक्षाको बहाना नयाँ भएकाले नाका नखुलाउने हो कि भन्ने आशंका उब्जिएको छ ।
नेपालको आर्थिक विकासमा सहयोग गर्ने आश्वासन दिदै आएको चिनले अर्थतन्त्रमा प्रभाव पार्ने नाका खुलाउन नै आनाकानी गरेपछि अनेक आशंका उब्जिएको छ ।
प्रदेश र प्रतिनिधिसभाको चुनावका बेला वाम गठबन्धनका उम्मेदवाहरुले चुनावमा गठबन्धनको बहुमत आएलगत्तै चिनले नाका खोलिदिने दाबीसमेत गरेका थिए ।
सिन्धुपाल्चोकबाट उम्मेदवार बनेका माओवादी नेता अग्नी सापकोटाले त्यहाँका जनतालाई आफूले चुनाव जितेमा नाका खुल्ने आश्वासन दिएका थिए । सापकोटाले वाम गठबन्धनको सरकार बनेको भोलीपल्टै तातोपानी नाका खुल्नेसमेत बताएका थिए ।
चुनावमा गठबन्धनले अपेक्षाअनुसार नै बहुमत ल्याए पनि नाका खुल्ने विषयमा कसैले पनि बोलेको छैन । यद्यपी एमाले माओवादी गठबन्धनको सरकार बनेपछि चिनले नाका खुलाउने अपेक्षा कतिपयले गरेका छन् ।
भूकम्प गएको ३ वर्ष हुन लागिसक्दासमेत नाका नखुल्दा नेपालको अर्थतन्त्र प्रभावित भएको छ । उक्त नाकाको प्रयोग गरेर व्यापार गर्नेहरु मर्कामा परेका छन् ।