२ माघ, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता अमनलाल मोदीले एमाले–माओवादीबिचको एकताका बारेमा आशंका नगर्न आग्रह गरेका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता मोदीले दुई पार्टीबिचमा मिलन हुँदा केही समस्या देखिनु सामान्य भएको भन्दै एकता नहुने गरी विवाद नहुने जिकिर गरे ।
“पार्टी एकता गर्नका लागि केही समस्या देखापर्छ । तर मूल कुरा जनताको म्यान्डेटले पार्टी एक हुने सन्देश दिएको छ । सरकार बनाउनका लागि मात्रै होइन, पार्टी एकता हुन्छ भनेर जनताले भोट दिएका हुन् ।” मोदीले भने ।
एकताका लागि बनेको कार्यदलले सबै समस्या समाधान गर्न मोदीले बताएका छन् । पार्टी एकता गरेर मात्रै सरकार गठन गर्नुपर्नेमा मोदीले जोड दिएका छन् । “पहिला वाम गठबन्धनको पार्टी एकता गर्नुपर्छ । त्यसपछि मात्रै सरकार निर्माण गर्नुपर्छ ।” उनले भने ।
अहिलेको सरकारले नयाँ सरकार निर्माणका लागि मार्ग प्रशस्त नगरेको अवस्थामा पार्टी एकतालाई प्राथमिकतामा राख्नुपर्ने उनको तर्क छ ।
एमाले र माओवादीबिचमा एकता हुँदा केपी शर्मा ओली र प्रचण्डमध्ये एकजना प्रधानमन्त्री र एकजना पार्टी अध्यक्ष बन्ने मोदीले दाबी गरेका छन् । “केपी ओली प्रधानमन्त्री बन्नुभयो भने प्रचण्ड पार्टी अध्यक्ष बन्नुहुन्छ । यसमा विमति छैन । यो त पहिले नै सहमति भइसकेको थियो ।” मोदीले भने ।