Logo

जिदान भन्छन् : रोनाल्डो बिनाको रियल मड्रिड कल्पना गर्न सक्दिन



काठमाडौं, ४ माघ । स्पेनिस ला लिगा क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो क्लबमै रहने बताएका छन् ।

रोनाल्डोले रियल मड्रिड छोडेको कल्पना गर्नै नसक्ने जिदानले बताएका छन् । रोनाल्डोले यो सिजन च्याम्पियन्स लिगमा राम्रो प्रदर्शन गरे पनि ला लिगामा गोल गर्न सकेका छैनन् ।

अहिलेसम्म च्याम्पियन्स लिगका ६ खेलमा ९ गोल गरेका रोनाल्डोले ला लिगाका १४ खेलमा मात्रै चार गोल गरेका छन् । पछिल्लो समय रोनाल्डोको रियल मड्रिडमा सम्बन्ध राम्रो नरहेको र आफ्नो पुरानो क्लब म्यानचेस्टर युनाइटेड फर्किन चाहेको खबर आएका छन् ।

तर प्रशिक्षक जिदानले भने रोनाल्डो बिनाको रियल मड्रिड आफूले कल्पना गर्नै नसक्ने बताएका छन् । पाँचौँ पटक बालोन डी’ओर जितेका रोनाल्डोले रियलसँग सन् २०२१ सम्मको सम्झौता गरेका छन् ।

उनले रियललाई क्लब वर्ल्ड कपको उपाधि जिताउने क्रममा ग्रिमिओसँगको खेलमा विजयी गोल गरेका थिए । रोनाल्डो सन् २००९ मा ८० मिलियन पाउण्डमा रियल आएका हुन् ।

उनले अहिलेसम्म रियलबाट चार सय १८ खेलमा चार सय २२ गोल गरेका छन् । तर उनले लिगका पछिल्ला तीन खेलमा गोल गर्न सकेका छैनन् । जिदानले रोनाल्डोको क्लबमा स्थान पहिले जस्तो थियो अहिले पनि उस्तै रहेको र उनलाई क्लब तथा फ्यान सबैले माया गर्ने बताएका छन् । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्