Logo

देउवा सरकार चुनावअघिको सरकार भएकोले उसले गरेको निर्णयहरु मान्नुपर्छ भन्ने छैन, प्रदेश प्रमुखमा हाम्रो सहमति छैन् : ओली  



काठमाडौं, ४ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले हिजो तोकेको प्रदेशको अस्थायी राजधानी र प्रमुखको नाममा आफूहरुको कुनै सहमति नभएको भन्दै अब बन्ने सरकारले निर्णय उल्टाउने समेतको संकेत गरेका छन् ।

नियमित स्वास्थ्योपचारका लागि थाइल्याण्डको बैंककबाट आज स्वदेश फर्किएका ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ओलीले यस्तो बताएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भने,‘प्रदेश प्रमुख तोक्नको लागि हामीले यो सरकारलाई ताकेदा गरेकै हो, तर हामीसँग सहमति भएको छैन । न प्रदेश प्रमुखको विषयमा सहमति भयो, न त अस्थायी मुकाम तोक्नेबारे ।’

सरकारले ढिलै भएपनि निर्णय गरेर नयाँ सरकार गठनको लागि सहज वातावरण बनाउन पहल गरेको तर्क गर्दै ओलीले अब यही विषयलाई आफूहरुले ईस्यु बनाएर आन्दोलन भने नगर्ने विश्वास दिलाए । प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेशसभालाई भएको बताए । उनले भने, ‘अनुकुलता, आवश्यकता र सम्भावनालाई हेरेर उपयुक्त निर्णय गर्छ ।’

तपाईको सरकार आएपछि अहिले नियुक्त भएका प्रमुखहरुलाई हटाउनुहुन्छ त ? भनेर पत्रकारले सोधेो एक प्रश्नमा उनले भने,‘अहिले जे निर्णय भएको छ, यो निर्वाचित सरकारले नियुक्ती गरेको होईन, चुनावअघिको सरकारले गरेको भएर मान्नुपर्छ भन्ने छैन ।’ ओलीले वाम गठबन्धनको सरकारले अहिलेको निर्णय उल्टाउन सक्ने संकेत गरे ।

पहिला अध्यादेश गलत तरिकाले आएको कारण आफूले देउवा सरकारले नियुक्त गरेका प्रदेश प्रमुखबाट सपथ नखाने भनेर बोलेको जिकिर गर्दै ओलीले भने,‘मैले त्यो प्रसँगमा सपथ खाँदैनौं भनेको थिएँ, अहिले आएर ढिलै भएपनि राम्रो भएको छ । देउवाले आलटाल गरे, सरकार गठनमा ढिलाई भयो । यो त गलत भयो । तर अब जे भयो त्यसमा हिजोको निर्णयले राम्रो गरेको छ ।’

ओलीले एमाले र माओवादीवीच छिट्टै पार्टी एकता हुने पनि विश्वास दिलाए । उनले थपे,‘पार्टी एकता हुन्छ, म बाहिर गएँ, केही ढिलाई भयो, अब शंका र उपशंका नगर्नुहोस्। नीती र नेतृत्वमा हामीवीच केही विवाद छैन् ।’

मुलुकलाई आर्थिक समृद्धिको दिशातर्फ अगाडि बढाउने समय आएकोले यसतर्फ सबैले गम्भिर भएर सोच्नुपर्नेमा उनको जोड थियो । उनले भने,‘राष्ट्रिय एकतालाई अक्षुण्ण राख्ने, र देशमा समृद्धि र विकास गर्नुको विकल्पछैन् ।’

आफू स्वास्थ्य परिक्षणको लागि बैंकक जाँदा यो बीचमा ओली राजतन्त्र फर्काउन लाग्यो भनेर केही मिडियाहरुले लेखेकोप्रति टिप्पणी गर्दै उनले भने,‘यस्तो कुरा नलेखेको भएपनि हुन्थ्यो, यी सबै कपोकल्पित र झुठा कुरा हुन् । राजसंस्था फर्काउने कुरा वाईहात हो ।’

त्यस्तै उनले आफ्नो स्वास्थ्य अहिले राम्रो रहेको पनि जानकारी दिए । उनले भने,‘सबै रिपोर्ट हेरेपछि म सन्तुष्ट छु ।’ हिजो नै आउने भनिएपनि टिकट नपाएको कारणले एक दिन बसाई लम्बिएको उनको भनाई थियो ।

उनी आज बिहीबार स्वदेश फर्कएिका हुन । गत पुस २६ मा बैंकका गएका ओली एक साता लामो समय व्यतित गरेर आज आएका हुन् । पूर्वप्रधानमन्त्री ओलीको बैंककको बुमरुङगार्ड अन्तर्राष्ट्रिय अस्पतालमा स्वास्थ्य परीक्षणपछि सबै प्रतिवेदन सामान्य देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्