Logo

पार्टी नेतृत्वले साधुलाई सुली चोरलाई चौतारो गर्नु भएन : गुरु घिमिरे



५ माघ, काठमाण्डौ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांगेसलाई आन्तरिक रुपबाट कसरी सुधार गर्ने भन्ने विषयमा केन्द्रिय समितिमा छलफल भएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता घिमिरेले आगामी दिनमा देखा पर्ने चुनौतिको सामना गर्न सक्ने कांग्रेस कसरी बनाउने भन्ने विषयमा छलफल केन्द्रित भएको बताए ।

“अहिलेको अन्यौल र छटपटीबाट कार्यकर्तालाई कसरी मुक्त बनाउने र समग्र रुपमा पार्टीलाई अहिलेको संकटबाट कसरी मुक्त गराउने भन्ने विषयमा छलफल भएको छ ।” घिमिरेले भने ।

केन्द्रिय सदस्यहरुले पार्टीको पराजयको दोष सबै सभापति शेरबहादुर देउवाले लिनुपर्छ भन्ने कुरा नभै नेतृत्व लिएको नाताले जस र अपजसको भागिदार हुनुपर्छ भन्ने कुरा गरिएको घिमिरेले बताए ।

कतिपय कामहरु शीर्ष नेताहरुका बिचको सहमतिमा हुने गरेको र त्यस्ता सहमति विधान विपरितसमेत गरिएकाले त्यस विषयमा ध्यानाकर्षण गराइएको उनले बताए ।

विधान विपरित गठन गरिएको संसदीय बोर्ड र कार्यसम्पादन समिति विघटनको माग केन्द्रिय सदस्यहरुले गरेको उनले जानकारी दिए ।
हिजो बसिएको केन्द्रिय समितिको बैठकको मूल एजेण्डा राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि भए पनि अन्य विषयहरु उठान भएको उनले बताए ।

केन्द्रिय समितिमा हारको बारेमा व्यापक समिक्षा गरेर महासमिति बैठक बोलाएर विधान सशोधन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको घिमिरेले बताए ।

राष्ट्रियसभा निर्वाचनका लागि अहिलेसम्म अवसर नपाएका तर पार्टीमा योगदान दिएकाहरुलाई उम्मेदवार बनाउनुपर्नेमा घिमिरेले जोड दिएका छन् । “साधुलाई सुली चोरलाई चौतारो गर्नु भएन ।” घिमिरेले भने ।

“गुटगत आँखाबाट मात्रै हेरेर कसैलाई काखा कसैलाई पाखा गर्नुभएन ।” उनले भने ।
पार्टीभित्र विभेद र पक्षपात कसैलाई पनि गर्न नुहेनमा उनले जोड दिएका छन् ।
“पार्टीभित्र न्याय मरेको छैन भन्ने परिपाटी स्थापित हुनुपर्छ । आफूले गरेको निर्णयबाट नेतृत्वलाई पछुतो नहोस् ।” घिमिरेले भने ।



प्रतिक्रिया दिनुहोस्