Logo

ओली–प्रचण्डवीच वान–टु–वान वार्ता, यस्तो भयो सहमति



काठमाडौं, माघ ५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच तीन घण्टा लामो वान टु वान छलफल भएको छ ।

दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म एमाले अध्यक्ष ओली निवास बालकोटमा भएको बैठकमा कार्यदलको रिपोर्ट, प्रदेश सरकारको गठन र राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफल भएको एक नेताले जानकारी दिए ।

छलफल असाध्यै सकारात्मक र सबै विषयमा खुलेर कुराकानी भएको पनि तीन नेताले पत्रकार ऋषि धमलासँग दावी गरे । भोलि दुई पार्टीमा आन्तरिक छलफल गरी पर्सि एकता संयोजन समितिको बैठक बसेर सरकार गठन भन्दा अगाडि नै पार्टी एकता गर्ने सहमति दुई नेताहरु बीच भएको बताईएको छ ।

दुई नेताबीच खासगरी पाँचवटा विषयमा आज गहन छलफल भएको र त्यो निकै सकारात्मक भएको बताइएको छ । देउवा नेतृत्वको सरकारले बुधबार गरेको प्रदेश प्रमुखको नियुक्तीका विषयमा दुई पार्टीले साझा धारण बनाएर सार्वजनिक गर्ने भन्नेबारे दुई नेताहरुवीच सहमति भएको छ ।

बैठकमा पार्टी एकताका लागि संगठनात्मक संरचना कस्तो बनाउने भन्ने बारेमा पनि ओली र प्रचण्डबीच बृहत छलफल भएको बताइएको छ । साथै सरकार गठन विधि, प्रक्रिया, मन्त्री फाँडफाँड लगायतका विषयमा पनि गभ्भीर छलफल भएको बताइएको छ ।

एकतापछि बन्ने नयाँ पार्टीको वैचारिक र संगठनात्मक दाँचा, नीति सिद्धान्त र कार्यनीतिका बारेमा पनि गहन छलफल भएको छ ।संयुक्त कार्यदलले ७० र ३० आधारमा राष्ट्रियसभा सदस्य उम्मेदवार बनाउन प्रस्तावका बारेमा पनि दुई अध्यक्षबीच छलफल भएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्