५ माघ, काठमाण्डौ । पार्टी एकताको अभियानमा लागेका नेकपा एमाले र माओवादीको नेतृत्वबिच पदीय बाँडफाँटको विषय नै पेचिलो बन्दै गएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सहजै प्रधानमन्त्री स्विकार गरेको माओवादीले एमालेले पनि अध्यक्ष प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष बनाउँछ भन्ने अपेक्षा थियो ।
तर माओवादीको अधिकांश नेताहरुले अबको प्रधानमन्त्री केपी ओली हो भनेर भनिरहँदा एमालेका कुनै पनि नेताले प्रचण्डलाई अध्यक्ष मान्न सकेका छैनन् ।
एमालेका नेताहरु प्रधानमन्त्री र अध्यक्ष दुवै पद ओलीले लिनुपर्ने मनस्थितीमा छन् । जसका कारण अहिलेसम्म पार्टी एकताले गति लिन सकेको छैन ।
तर पार्टी एकता जति ढिलो हुँदै गएको छ, त्यति नै प्रचण्डको पक्षमा नेताहरु थपिदै गएका छन् । माओवादीका नेताहरु प्रचण्डलाई अध्यक्ष बनाउनुपर्छ भन्ने पक्षमा हुनु त स्वभाविक नै हो, तर पछिल्ला दिनमा एमालेका नेताहरुसमेत पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद ओलीले लिन नहुने पक्षमा छन् ।
यसअघिदेखि नै प्रचण्डसँग निकट मानिने एमाले उपाध्यक्ष बामदेव गौतम प्रचण्डलाई अध्यक्ष बनाउनुपने पक्षमा छन् ।
अर्कोतिर केपी ओलीलाई पार्टीभित्रै चुनौति दिदै आएका वरिष्ठ नेता माधवकुमार नेपाल र उनका पक्षधर नेताहरु पनि अध्यक्ष पद प्रचण्डलाई दिएर सहज रुपमा पार्टी एकता गर्नुपर्ने पक्षमा छन् ।
पछिल्लो समय पार्टी एकता पर धकेलिदै गएपछि कतिपय ओली पक्षका नेताहरुसमेत एकता सफल बनाउनका लागि लागि प्रचण्डलाई अध्यक्ष बनाउनुपर्ने निष्कर्षमा पुगेका छन् ।
पार्टीकै अर्का प्रभावशाली नेता तथा पूर्व अध्यक्ष झलनाथ खनाल पनि पार्टी एकता सफल बनाउनका लागि प्रचण्डलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा देखिएका छन् ।
पार्टी एकताको पक्षमा दुवै दलका नेताहरु एकमत भए पनि पदीय बाँडफाँट नै मूख्य समस्या देखिएका बेला प्रचण्डको पक्षमा नेताहरु थपिदै गएको देखिन्छ ।