Logo

न्यूरोडबाट चितुवाको छालासहित तीन पक्राउ



काठमाडौँ, ५ माघ : महानगरीय अपराध महाशाखाले संरक्षित वन्यजन्तु चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको छ ।

महाशाखाबाट खटिएको टोलीले संरक्षित वन्यजन्तुको छाला ओसारपसार गरेको भन्दै बैतडीका महेशराम औजी, जनक महरा र सुरेन्द्र दयाललाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

महाशाखाले काठमाडौँको न्यूरोडस्थित भूगोल पार्कमा झोलाभित्र बोरामा प्याक गरी राखेको अवस्थामा पक्राउ गरेको हो । उक्त छाला बैतडीबाट ल्याएको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि आज जिल्ला वन कार्यालय हात्तिसार पठाएको महाशाखाले जनाएको छ ।

डिल्लीबजार कारागारबाट कैदी भागे

यसैगरी चोरी मुद्दामा पुर्पक्षका लागि कारागार जीवन बिताइरहेका टीका थापामगर बिहीबार राति ८ बजे डिल्लीबजार कारागारबाट भागेका छन् ।

काठमाडौँमा पटकपटक चोरी, लुटपाट र डकैती गर्दै आएका थापामगर एक वर्षदेखि पुर्पक्षका लागि थुनामा रहेका थिए । डिल्लीबजार कारागारका जेलर विष्णु कार्कीले कारखानामा काम गरेपछि बस्ने ठाउँमा जानुपर्नेमा नगई राति ८ बजेतिर काँडेतार काटेर भागेको जानकारी दिनुभयो । (रासस) 



प्रतिक्रिया दिनुहोस्