Logo

महान खेलाडी पेलेको स्वास्थ्य अवस्था राम्रो



काठमाडौँ, ६ माघ ।विश्व फुटबलका महान खेलाडी ब्राजिलका पेलेको स्वास्थ्य अवस्था राम्रो रहेको र घरमै आराम गरिरहेको उनका प्रवक्ताले बताएका छन् । शरीरमा अत्याधिक थकानका कारण पेलेलाई अस्पताल भर्ना गरिएको भन्ने खबर आएपछि उनका प्रवक्ताले बाहिर आएका खबर झुठ रहेको बताएका हुन् ।

७७ वर्षका पेले यो सप्ताहन्तमा लण्डन जानु पर्ने थियो । त्यहाँ उनको सम्मानमा फुटबल राइटर्स एसोसिएसन (एफडब्लुए) ले डिनरको आयोजना गरेको थियो । तर पेलेले कार्यक्रम रद्द गरे । डाक्टरले उनको स्वास्थ्य परीक्षण गरिरहेकाले पेले आउन नसकेको एफडब्लुएले बतायो ।

तीनपटक विश्पकप फुटबलको उपाधि जित्ने एकमात्र खेलाडी पेले अस्पताल भर्ना भएको भन्ने खबर पूर्णरुपले झुठ रहेको उनका प्रवक्ताले बताएका छन् । लामो र तनावपूर्ण प्लेनयात्रा गर्न नचाहेकाले पेलेले लण्डनको कार्यक्रम रद्द गरेको उनका प्रवक्ता जोसे फोर्नोस रोड्रिग्वेजले बताएका छन् ।

पछिल्ला वर्षमा मिर्गौला तथा प्रोस्टेटमा देखिएको समस्याका कारण पेलेलाई अस्पताल लगिएको थियो । विश्वका महान फुटबलरका रुपमा लिइने पेलेले आफ्नो २१ वर्षे खेल जीवनमा १३ सय ६३ खेलमा १२ सय ८१ गोल गरेका छन् । यसमा ब्राजिलबाट ९१ खेलमा गरेको ७७ गोल पनि सामेल छ ।

उनले सन् १९५८, १९६२ र १९७० मा ब्राजिललाई विश्वकपको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । विश्व फुटबलको प्रशासकीय निकाय फिफाले उनलाई शताब्दी खेलाडी घोषित गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्