Logo

प्रादेशिक राजधानी तोक्ने निर्णय नसच्चिएसम्म आन्दोलन कायमै : महरा



तुलसीपुर, दाङ, ६ माघ : नेकपा(माओवादी केन्द्र)का नेता तथा दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका कृष्णबहादुर सरकारले प्रादेशिक राजधानी तोक्ने सरकारले गरेको निर्णय नसच्चिएसम्म आन्दोलन जारी रहने बताउनुभएको छ ।

आज दाङको लमहीमा प्रदेश नं ५ को राजधानी दाङलाई नै बनाउनुपर्ने माग गर्दै जनसंघर्ष समितिले थालेको बृहत् सभालाई सम्बोधन गर्दै उहाँले आन्दोलनको स्वरुप भने परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “निर्णय नसच्चिएसम्म आन्दोलन जारी रहन्छ तर यसको स्वरुप परिवर्तन गर्नुपर्ने आवश्यक छ । बन्द नगरेर विरोधसभा, ज्ञापनपत्र बुझाउने, कोणसभा गर्ने र निरन्तर दबाब दिनुपर्छ ।’’

राष्ट्रियसभाको निर्वाचन दाङमा नै तोकिएको र सो निर्वाचनलाई लक्षित गरी आन्दोलनको स्वरुप परिवर्तन हुनुपर्ने र ५ नं प्रदेशका सभा सदस्यलाई स्वागत गर्नुपर्ने उहाँको भनाइ छ ।

नेता महरा काठमाडौँबाट हवाईजहाज चढेर नेपालगञ्जसम्म आए पनि बाक्लो हुस्सुका कारण जहाज अवतरण हुन नसकेपछि पुनः काठमाडौँ पुगी हेलिकप्टरबाट दाङ आउनुभएको थियो । लगातार पाँच दिनदेखिको बन्दका कारण दाङको जनजीवन प्रभावित बनेको छ । (रासस) 



प्रतिक्रिया दिनुहोस्