Logo

विवादित र पार्टीको मान्छेलाई प्रदेश प्रमुख बनाइएको छ, हामी मान्दैनौँ : नेता महासेठ



काठमाडौं, ७ माघ । नेकपा एमालेका नेता रघुवीर महासेठले माओवादी र एमालेबिचको एकता नजिक पुगेको बताएका छन् । महासेठले एकताका लागि कुनै विवाद नभएको भन्दै सरकार बनाउनुअघि नै एकता गरिने दाबी गरे ।

एकतापछि प्रधानमन्त्री र पार्टी अध्यक्ष को बन्ने ? भन्ने विषयमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भइसकेको खुलासा गरे । योग्यताअनुसार कार्यविभाजन गरेर पार्टी एकता गरिने महासेठको भनाई थियो । उनले जनताको बहुदलीय जनवादलाई नै मुख्य आधार मानेर पार्टी एकता हुने भएकोले त्यसलाई छाडेर एकता हुनै नसक्ने स्पष्ट पारे ।

पूर्वमन्त्री समेत रहेका नेता महासेठले कांग्रेसले जनमत गुमाइसकेपछि पनि सत्ता छाड्न नसकेको आरोप लगाए । संविधानमा भएका त्रुटीलाई प्रयोग गरेर सरकार र निर्वाचन आयोगले गलत काम गरेको उनको आरोप थियो ।

“संविधानमा भएको त्रुटीलाई सरकार र आयोगले प्रयोग गरे । आयोगले गर्न हुने नहुने सबै काम गर्यो । राष्ट्रियसभाको चुनाव सकिएपछि कुनैपनि बाहाना बाँकी रहँदैन ।” महासेठले भने ।

उनले सरकारले अयोग्य र विवादित व्यक्तिलाई प्रदेश प्रमुखमा नियुक्ति गरेको आरोप लगाउँदै नयाँ सरकारले त्यसलाई निरन्तरता नदिने बताए । “विवादित र पार्टीको मान्छेलाई प्रदेश प्रमुख बनाइएको छ । हामी मान्दैनौँ । देशका लागि अहित हुने र कानुन विपरितका सबै निर्णय खारेज हुन्छ ।” उनले भने ।

“यो सरकार देशलाई कसरी लुट्न सकिन्छ भन्नेमा केन्द्रित छ । चुनावमा जनादेश गुमाएको छ । तर राजश्वको दुरुपयोग गर्ने, दीर्घकालिन असर पार्ने निर्णय गर्ने र सरकार लम्ब्याउने खेलमा लागेको छ ।”

राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले मधेशका मुद्दालाई हतियार बनाएर राजनीति गरेको आरोप महासेठले लगाएका छन् । मधेशको मुद्दा एमालेले मात्रै समाधान गर्न सक्ने जिकिरसमेत उनले गरे । साथै अबको दिनमा मधेशवादी दलले एमालेसँग सहकार्य गर्नुपर्ने उनको भनाई थियो ।

“अब कांग्रेससँग मिलेर मधेशवादी दललाई फाइदा छैन । सरकारमा पनि सहकार्य गर्न हामी तयार छौँ ।” महासेठले भने ।



प्रतिक्रिया दिनुहोस्